फागुन २९ । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले जेठभित्र स्थानीय निकायको निर्वाचन गराउन खोज्नु संघीयतालाई पन्छाउने षड्यन्त्र भएको आरोप लगाएका छन् । 
पार्टी कार्यालय बुद्धनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले स्थानीय चुनाव राज्यको पुन संरचना गर्नेसँग सम्बन्धित भएको भन्दै अहिले चुनाव गराउन खोज्नु संघीयताबाट पछि हट्न खोज्नु भएको आरोप लगाए ।
यसअघि एमाओवादी र माओवादीका दुवै अध्यक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सङ्घीय संविधान नबन्दै सङ्क्रमणकालीन संरचनाबारे निर्वाचन गर्न खोज्नुले नयाँ सङ्घीय संविधान निर्माण नगरिने प्रश्न उठेको भन्दै यस्तो गम्भीर प्रश्न उठ्नुका साथै अन्तरिम संविधान २०६३ को धारा १३८ विपरीतसमेत हुने भएकोले नयाँ संविधान निर्माणलाई प्राथमिकता दिई सो नहुँदासम्म स्थानीय निर्वाचन नगरियोस् भनी आग्रह गरेका थिए । 
पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले एकिकृत माओवादीसग तत्काल एकता सम्भव नभएको समेत स्पष्ट पारेका छन् । तर उनले पत्रकार सम्मेलनमो कार्यदिशा र अन्य विषयवस्तु मिल्दै गए एकता असम्भ नरहेका पनि उल्लेख गरे । हाम्रो कामकारबाही, कार्यदिशा र अरु विषयमा कुराहरु मिल्दै गयो भने एकता हुदैन भन्न सकिन्न, उनको भनाई थियो ।
अध्यक्ष वैद्यले एमाओवादीलाई संविधानसभाबाट निस्कन पनि आग्रह गरेका छन् । संविधानसभामा एमाओवादीको स्थिति केही गर्न नसक्ने हैसियतमा रहेको भन्दै उनले संविधानसभाबाट बाहिरिन सुझाव दिए ।
पत्रकार सम्मेलनमा संविधानका अन्तरवस्तु, राष्ट्रियता, जनजीविकाको सवालमा सङ्घर्ष गर्न पार्टी सचिव देव गुरुङको संयोजकत्वमा १३३ सदस्यीय संयुक्त जनसमिति निर्माण गरेको जानकारी गराइएको थियो ।
जनसमितिले आन्दोलनरत तेत्तीस दलीय मोर्चाका साथै अन्य घटकसँग सहकार्य गरेर आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।