वाशिङटन डिसी, २१ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले १० वर्षभित्र कोही नेपालीलाई रोजगारीको लागि विदेश जान नपर्ने बताएका छन् ।
विश्व बैंकसँग रणनीतिक साझेदारीसम्बन्धी छलफल गर्न डिसी आएका अर्थमन्त्रीले लगानीको वातावरण निर्माण गरेर आगामी १० वर्षभित्र कोही नेपालीलाई रोजगारीको लागि विदेश जान नपर्ने वातावरण बनाउने बताए ।

उनले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह पनि गरेका छन् ।

अर्थमन्त्रीले आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली (एनआरएन) लाई लगानीको लागि आग्रह गरेका हुन् । “तपाईहरुले विदेशी भूमिमा बसेर आर्जन गर्नुभएको सम्पत्ति, प्रविधि, सीप र श्रमको विविध क्षेत्रमा लगानी गर्न आउनुहोस् हामी सहजीकरण गर्न तयार छौँ” अर्थमन्त्री डा खतिवडाले भने, “हामी देश समृद्ध बनाउने अभियानमा छौँ, तसर्थ लगानीकर्तालाई आकर्षित गर्न एकद्वार नीति अवलम्बन गरेर कम्पनी दर्तादेखि लगानी गरेर आर्जित गरेको रकमसमेत कर तिरेपछि मुनाफा लैजान सक्ने वातावरण निर्माण गर्न लागेका छौँ ।”

उनले सरकारले समाजवादको अन्तिम खुड्किलोमा पुग्ने प्रयत्न गरेको बताउँदै यसलाई राज्य नियन्त्रित अर्थतन्त्रको परिकल्पनामा गयो भनेर सोच्नु अतिशयोक्ति हुने पनि बताए ।
उनले थपे, “सामाजिक न्यायको सिद्धान्तमा आधारित भएर नागरिकलाई उत्पादनमा प्रोत्साहित गर्ने श्रम गर्न सक्ने र शिक्षित, सीपयुक्त र स्वस्थ्य नागरिकको योगदान खोजेका छौँ ।” रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।