काठमाडौं २८ साउन । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको दुई दिने बैठक लुम्बिनीमा सम्पन्न भएको छ । बैठकमा पत्रकारको विषय भन्दा पनि लुम्बिनीको विकास र प्रबर्धनले बढी ठाउँ पाएको छ ।
साउन २३ र २४ गते सम्पन्न बैठकपछि महासंघले सात बुँदे लुम्बिनी घोषणपत्र तय गरेको छ । जसमा पत्रकार मुद्धा ओझेलमा र विकासका कुरा बढी परेको हो ।
बैठकले लुम्बिनी विकास समितिको बैठक जस्तै गरेर लुम्बिनी क्षेत्रको विकासका लागि गठित संयुक्त राष्ट्र संघ अन्तर्गतको लुम्बिनी विकास अन्तर्राष्ट्रिय समिति ९१५ देश० लाई सक्रिय बनाउन नेपाल सरकार अनुरोध समेत गर्न भ्याएको छ ।
यद्यपी, बैठकले लुम्बिनीमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्ने घोषणा र बुद्ध दर्शन तथा लुम्बिनी क्षेत्र र यसको ऐतिहासिक तथा पुरातात्विक महत्वका बारेमा विस्तृत अध्ययन गर्न चाहने पत्रकारहरुका लागि पत्रकार लेखनवृत्ति वा छात्रवृत्ति स्थापना गर्नका साथै पुरस्कार, अनुभव आदानप्रदान तथा भ्रमण कार्यक्रमहरु सञ्चालन गर्न माग भने गरेको छ । घोषणापत्रमा पत्रकारको हकहित, सुरक्षा लगायतका विषयले भने ठाउँ पाएको छैन ।
हेर्नुहोस् बैठकद्वारा पारित लुम्बिनी घोषणापत्रका बुँदाहरु
१. विश्व सम्पदा सूचिमा रहेको धार्मिक तथा ऐतिहासिक महत्वको लुम्बिनी क्षेत्रको विकासका लागि जारी गरिएको लुम्बिनी विकास गुरुयोजना यथाशिघ्र सम्पन्न गर्नुका साथै कपिलवस्तु, नवलपरासी र रुपन्देही जिल्लामा पर्ने ऐतिहासिक बौद्ध केन्द्रहरुको पनि समान महत्वका साथ गुरुयोजना निर्माण गरी विकास गर्न यौ बैठक सम्बद्ध सबैमा अपिल गर्दछ ।
२. लुम्बिनी क्षेत्रको विकासका लागि गठित संयुक्त राष्ट्र संघ अन्तर्गतको लुम्बिनी विकास अन्तर्राष्ट्रिय समिति (१५ देश) लाई सक्रिय बनाउन नेपाल सरकारसँग यो बैठक अनुरोध गर्दछ ।
३. विश्व शान्तिको मुहान लुम्बिनी क्षेत्रको संबद्र्धन, प्रवद्र्धन र प्रचार प्रसार गरी अन्तर्राष्ट्रिय रुपमा एउटा प्रमुख गन्तव्यका रुपमा स्थापीत गरी यसको गरिमा र महत्वलाई बढाउनका लागि बैठक लुम्बिनीमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्ने घोषणा गर्दछ ।
४. लुम्बिनी विकासको संरक्षण र प्रवर्धन गर्नका लागि स्थानीयको स्वमित्व र अपनत्व हुने गरी गतिविधि बढाउन आवश्यक देखिएकाले लुम्बिनीको विकासमा स्थानीय जनताको सहभागीता, स्थानीयको रोजगारी प्रवद्र्धन र शिप विकास गरिने किसिमका कार्यक्रमहरु तर्जुमा गरी लागु गर्न र स्थानीय जनताको सहभागीता र जानकारीका लागि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न यो बैठक माग गर्दछ ।
५. बुद्ध दर्शन तथा लुम्बिनी क्षेत्र र यसको ऐतिहासिक तथा पुरातात्विक महत्वका बारेमा विस्तृत अध्ययन गर्न चाहने पत्रकारहरुका लागि पत्रकार लेखनवृत्ति वा छात्रवृत्ति स्थापना गर्नका साथै पुरस्कार, अनुभव आदानप्रदान तथा भ्रमण कार्यक्रमहरु सञ्चालन गर्न सम्बद्ध सबैसँग यो बैठक माग गर्दछ ।
६. बुद्धको जन्म लगायतका ऐतिहासिक विषयहरुमा विभिन्न देशका पाठ्यक्रम लगायतका बुद्ध सम्बन्धि जानकारीका सामग्रीहरुमा देखिएका गलत जानकारी तथा अन्यौल हटाउनका लागि सम्बन्धित सरकारहरुसँग पहल गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ ।
७. लुम्बिनीलाई खेलकुद पर्यटनको गन्तव्यको रुपमा पनि विकास गरी अन्तर्राष्ट्रिय स्तरमा खेलकुद मार्फत शान्ति र भाइचाराको प्रवद्र्धनका लागि योजना निर्माण गर्न यो बैठक सरकारलाई आव्हान गर्दछ ।







