फागुन २६ । एमाओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला जनताको गुनासो प्रत्यक्षरुपमा सुनुवाइ गर्न स्थापना गरेको ‘हेलो सरकार’ अहिले समान्य मदिरा पिउँदा प्रहरीले थप्पड हानेकोेदेखि गुण्डाहरुले रकम उठाउँदै गरेको र धारामा पानी नआएकोसम्म सरकारसँग गुनासो गर्ने सजिलो माध्ययम भएको छ ।
०६८ कार्तिक १७ गते स्थापना भएको ‘हेलो सरकार’ ले करीब ३ वर्षको अवधिमा भट्टराई बाहेक दुई ओटा सरकार पाएको छ । अहिले सरकारको नेतृत्वमा सुशील कोइराला छन् । यस अघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तरिम चुनावी सरकारको नेतृत्व गरेका थिए । २७ ओटा मन्त्रालय र ती बाहेकका अन्य गरी ३३ वटा केन्द्रीय स्तरका निकायमा यो अवधीसम्ममा २८ हजार ५ सय ४० वटा गुनासाहरु ‘हेल्लो सरकारमा’ दर्ता भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । तीमध्ये २७ हजार ७ सय ९६ वटा गुनासोको सुनुवाइ भएको प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले जानकारी दिए ।
०७० माघ मसान्तसम्मको यो तथ्याङ्क अनुसार गृह मन्त्रालयमा ४ हजार २ सय ६२ वटा गुनासा दर्ता भएका छन् । सोमवार सिंहदरवारमा अयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शिक्षा मन्त्रालयमा ३ हजार ३४ वटा गुनासाहरु दर्ता भएका छन भने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय १ हजार ७ सय ८९ वटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १ हजार ६ सय १३ वटा गुनासो दर्ता भएका छन् । वाणिज्य तथा आपूर्ती मन्त्रालयसँग सम्बिन्धत १ हजार १ सय ५६, अर्थ मन्त्रालय अन्र्तरगत १ हजार १ सय १४ र नेपाल विद्युत प्राधिकरणसँग सम्बन्धित ९ सय ३७ वटा गुनासाहरु दर्ता भएको तथ्यांकमा उल्लेख छ ।
गृहमन्त्रालयसँग सम्वन्धित गुनासाहरुमा विदेशीहरु अवैधरुपमा बसिरहेका, म्हेपीमा सामान्य मदिरा पिएकोमा प्रहरीले थप्पड लगाएको, स्वयम्भू ठूलो भर्याङ्गमा गुण्डाहरुले रकम उठाएको, सीतापाइला चौकमा रोक्ने माइक्रोबसले भाडामा ठगेको, भोजपुरको प्याउलीमा प्रहरीले ज्यादती गरेको जस्ता गुनासा दर्ता गराएको सचिव बास्कोटाले जानकारी दिए ।
शिक्षा मन्त्रालयसँग सम्वन्धित गुनासाहरुमा शैक्षिक ऋण पाउन नसकेको, एसएलसी परीक्षामा लोडसेडिङ्ग नहोस भन्ने माग गरेको, परीक्षाफल समयमा प्रकाशित नभएको, छात्रामाथि दुव्र्यवहार गर्ने शिक्षकउपर कारवाही हुनुपर्ने रहेको पनि बास्कोटाले जानकारी दिए । अन्य गुनासाहरुमा पासपोर्ट लिन महिनौ कुर्नु परेको, अपाङ्ग भत्ता नपाएको, राष्ट्रिय म्यूजियम सफा हुनुपर्ने, ग्यासको कालोबजारी भएको, ठमेल–गोंगबुको बाटो साघँुरो भएको, कम्पनी रजिष्ट्रार कार्यालयको अनलाइन नखुलेको, वृद्ध भत्ता ६० वर्षवाटै दिनु पर्ने, सार्वजनिक यातायातमा वृद्ध, अपाङ्गका सिट सुरक्षित नभएको, जनआन्दोलका घाइतेले भत्ता नपाएको जस्ता गुनासो पनि ‘हेलो सरकारमा’ दर्ता भएको मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
कुलेश्वरमा धारामा पानी नआएको, पसलेहरुले बिल नदिएको, सार्वजनिक यातायातमा विद्यार्थीले छुट नपाएको, मापसे चेक केवल मोटरसाइकलमा मात्रै भएको, वैदेशिक रोजगारीको सन्दर्भमा ठगिएको, गुल्मीको शान्तिपूरमा बादँरले दुःख दिएको जस्ता गुनासा पनि ‘हेलो सरकार’ मा दर्ता भएका छन् । गुनासो दर्ता भएका उर्जा, कानून, कृषि विकास, परराष्ट्र, भूमिसुधार, महिला, युवा, रक्षा, वन, विज्ञान, शान्ति, शिक्षा, स्थानीय विकास, सामान्य प्रशासन, सिंचाई, सहरी विकास, सहकारी, सूचना तथा सञ्चार मन्त्रालयले सबै गुानासाहरुको सुनुवाइ गरेको जनाइएको छ ।
Comments