गोली लागी मारिएका खुना शहिद घोषणा
काठमाडौं ९ भदौं । सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा शनिबार साँझ बसेको बैठकले पन्त परिवारसँगै आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनाको परिवारलाई पनि १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

वास्तवकि हत्यारा पत्ता लगाई कारबाहीको मागमा आन्दोलनका क्रममा १४ वर्षिया खुनाको ८ भदौमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । सरकारले खुनालाई शहिद घोषणा गर्ने निर्णय समेत गरेको छ ।
पन्तको हत्यामा संलग्नलाई कारबाहीको मागमा आन्दोलनका क्रममा ७ भदौमा ३ जना र ८ भदौमा ५ जना घाइते समेत भएका थिए । सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्ने र अंगभंग भएकाहरुलाई आर्थिक सहायता दिने निर्णय समेत गरेको छ ।
मन्त्रीपरिषद बैठक सहसचिवको नेतृत्वमा बनेको छानविन समितिलाई गोली काण्डबारे अनुसन्धान गर्ने जिम्मेवारी समेत दिएको छ ।
गृह मन्त्रालयले ७ भदौमा घटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

पाँच सदस्यीय समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक वसन्त बानियाँ र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विरेन्द्र केसी छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।
मन्त्रीपरिषदले एसपी डिल्लीराज विष्टलाई निलम्बन निर्णय समेत गरेको छ । यसअघि गृह मन्त्रालयले विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएकोमा मन्त्रीपरिषद बैठकले गृहको प्रस्ताव पारित गरेको हो । पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गर्दै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।