काठमाडौँ, १७ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले घरधनी र व्यवसायीको सम्झौताका आधारमा घरबहाल कर तिर्नुपर्ने बताएका छन् ।

जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँले आज आयोजना गरेको ‘व्यवसायी कर, मूल्य अभिवृद्धि करसम्बन्धी अन्तरक्रिया’मा उनले सम्झौतामा उल्लेख भएअनुसार नै कर तिर्नुपर्ने बताए । “सम्झौतामा के उल्लेख गर्नुभएको छ, त्यहीअनुसार घरधनी वा बहालबस्नेले घरबहाल कर तिर्नुहोस्,” उनले भने ।

शाक्यले गत वर्षको तुलनामा काठमाडौँ महानगरपालिकाले कर घटाएको भन्दै सबै व्यवसायलाई करको दायरामा ल्याउन महानगरपालिका लागेको उल्लेख गरे । उनले स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहमा व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै व्यवसायको आधारमा महानगरपालिकालाई कर तिर्न आग्रह गरे।

आन्तरिक राजश्व विभागका निर्देशक सरोज निरौलाले घरवहाल कर र व्यवसायी कर उठाउने अधिकार स्थानीय तहलाई प्रदान गरिएको भन्दै कोही व्यवसायी पनि करको दायराबाट भाग्न नमिल्ने बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले मुलुकको आर्थिक समृद्धिको आधार होटल व्यवसाय भएको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।