फागुन २० । पार्टीको आसन्न नवौं महाधिवेशनको विषयलाई लिएर एमालेका दुई नेता केपी शर्मा ओली र माधवकुमार नेपालबीचको गनगनले एमालेको जारी केन्द्रीय कमिटी बैठक पनि अनिर्णित भनेको छ ।

ती दुई समूहबीचको गनगनले महाधिवेशन मितिसमेत अन्योल बनेको छ । संसदीय दलका नेतासमेत रहेका प्रभावशाली नेता केपी शर्मा ओली समुहका केन्द्रीय सदस्यहरुले जेठ ३ बाटै महाधिवेशन गर्नु पर्ने अडान बैठकमा राख्दै आएका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश ओली निकट केन्द्रीय सदस्यले पनि महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नु पर्ने सुझाव नेतृत्वलाई दिदैँ आएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समुहले भने तयारी नपुगेको भन्दै बैठक सार्नु पर्ने प्रस्ताव बैठकमा राख्दै आएका छन् । गृहमन्त्री समेत रहेका वामदेव गौतम समुहका केन्द्रीय सदस्यले पनि एमालेको आगामी महाधिवेशन निर्धारित समयमै गर्नु पर्ने सुझाव नेतृत्वलाई दिएका छन् । अध्यक्ष झलनाथ खनाल निकटका केही केन्द्रीय सदस्यको राय भने महाधिवेशन सार्दा उपयुक्त हुने रहेको छ ।

महासचिव ईश्वर पोखरेल पनि जेठमै महाधिवेशन गर्नुपर्ने अडानमा छन् । उनले आइतवारको बैठकमा जेठ भित्रै महाधिवेशन गर्नु पर्ने प्रस्ताव राखेका थिए । नेपाल निकटका केन्द्रिय सदस्यहरुले जुनसुकै हालतमा पनि महाधिवेशन सार्नु पर्ने अडान राखेपछि उनले आइतवारको बैठकमा ‘मध्यमार्गी’ प्रस्ताव अघि सारेका थिए । महासचिव पोखरेलसहित सचिव विष्णु पौडेलले पनि आइतबारको बैठकमा महाधिवेशनलाई लिएर चर्किदैँ गएको विवाद सुल्झाउन जेठभित्रै महाधिवेशन गर्ने गरी ‘मध्यमार्गी’ प्रस्ताव अघि सारेका थिए ।
 संसदीय दलको निर्वाचनमा खुलेरै अध्यक्ष खनालका पक्षमा उभिएका नेपाल अहिले कुनै पनि हालतमा जेठमा महाधिवेशन गर्नु नुहुने अडानमा छन् । आगामी महाधिवेशनमा अध्यक्ष उठ्ने तयारीमा रहेका नेपाल संसदीय दलको निर्वाचनपछि केही कमजोर बनेको र उनको समुह महाधिवेशन सार्ने तयारीमा लागेको हुन सक्ने ओली निकटका केन्द्रिय सदस्यले आरोप लगाउँदै आएका छन् । ‘संसदीय दलका नेता ओलीले उपाध्यक्ष गौतमको समेत साथ पाएपछि ओली समुह वलियो भएको ठहरसहित नेपाल समुह महाधिवेशनबाट भाग्न खोजेको हुनसक्छ,’ ओली निकटका एक केन्द्रीय सदस्यले भने । तर, नेपाल समूह भने त्यो आरोप सत्य नभएको बताउँछ । ‘बैठकमा वोल्ने अधिकाशं केन्द्रीय सदस्यहले निर्धारित मितिमै चुनाव गर्नु पर्ने सुझाव दिएका छन्,’ नेपाल निकट एक केन्द्रीय सदस्यले भने, ‘कम्युनिस्ट पार्टी विचारका आधारमा मात्रै सञ्चालन हुन सक्ने भएकाले लोकतन्त्रका नाममा वैचारिक छलफल र बहसलाई निषेध गरेर जाने कुरा ठीक हुँदैन ।’ पार्टीका महासचिवले नै बैठकमा वैचारिक बहसका लागि धेरै समय नछुट्ट्याईकन संगठित सदस्यता नवीकरण, प्रतिनिधि चयनलगायतका प्राविधिक काममा केही समय थपेर महाधिवेशन गर्नु पर्ने प्रस्ताव राखेपछि महाधिवेशनको मिति सरिहाले पनि निर्धारित मिति एक–दुई साता पर सर्न सक्ने ती केन्द्रीय सदस्यको भनाई छ ।

 बैकमा पोखरेलले आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र केन्द्रीय आयोगमा रहेकाहरू आयोजकको हैसियतमा स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेर महाधिवेशनमा जान सकिने प्रस्ताव पनि बैठकमा राखेका थिए । आइतवारको बैठकमा धारणा राख्ने ९ मध्ये महासचिव पोखरेल र सचिव पौडेलसँगै मुकुन्द न्यौपानेले पनि मध्यमार्गी धारणा राखेका थिए । सिद्धिलाल सिंह, रघुजी पन्त र योगेश भट्टराईले भने कम्तीमा ६ महिना सैद्धान्तिक र वैचारिक बहस सञ्चालन गरेर महाधिवेशन आयोजना गर्नुपर्ने धारणा राखेका थिए ।

विष्णु रिमाल, भानुभक्त ढकाल र केशवलाल श्रेष्ठलगाएतका नेता पनि आठौंबाट निर्वाचित नेतृत्वको कार्यकाल गुज्रिसकेकाले तयारीका सबै काम छिटो सम्पन्न गरेर स्थायी समितिले प्रस्ताव गरेको मितिमै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडानमा छन् । ‘स्थायी समितिले आगामी ३ जेठका लागि महाधिवेशन मिति प्रस्ताव गर्दै त्यस निम्ति तयारीका कार्यतालिका र कार्ययोजनासमेत बैठकमा पेस गरिसकेको छ,’ एक केन्द्रीय सदस्यले भने । पार्टी विधानको व्यवस्थाअनुसार पनि पाँच वर्षमा महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले महाधिवेशनको मिति सार्नु नुहुने अधिकांश केन्द्रीय सदस्यको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।