विराटनगर, १४ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारबाही गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्ने बताए । गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताए । उनले नेपाली जनताले दिएको जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको बताए ।
मन्त्री थापाले विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको दाबी गर्दै वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिएको धारणा व्यक्त गरे । उनले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताए । पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषदमा छलफलपछि सार्वजनिक गरिने उनको भनाई छ।







