तेह्रथुम, २० असोज । तेह्रथुमको म्याङलुङ नगरपालिकाले चाडपर्वलाई लक्षित गरी नगरपालिका क्षेत्रका सडक मर्मत गरेको छ । वर्षाले क्षतिग्रस्त बनेका म्याङलुङ–जिरीखिम्ती, जिरीखिम्ती–लसुने, जिरीखिम्ती–चौकीबजार र जिरीखिम्ती–सन्सारी सडक मर्मत गरेको हो ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर र नगरवासीसमेतको सहभागितामा क्षतिग्रस्त सडकका खाल्डाखुल्डी पुर्ने, नाला बनाउने, ग्याभिङ भर्ने, सम्याउनेलगायत मर्मतका काम गरिएको हो । चाडपर्वका बेला जिल्लावासीलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले सडक मर्मत गरिएको नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए ।
नगरपालिकाले १० ट्याक्टर, दुई टिपर र चार जेसिबी भाडामा लिएर सडक मर्मत गरेको हो । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत रहेको म्याङलुङ–वसन्तपुर सडक खण्डमा समेत लोकमार्गले मर्मतमा पर्याप्त बजेट नदिए पछि नगरपालिका आफैँले मर्मत गरेको जनाएको छ ।
सो खण्डमा लोकमार्ग आयोजनाले समेत मर्मतको काम गरे पनि कम बजेट भएका कारण समस्या भएको आयोजनाले जनाएको छ । लोकमार्गले सडक निर्माणको काम थाल्न ढिलाइ गरेकाले अझै केही वर्ष जिल्लावासीले सास्ती बेहोर्न बाध्य हुनुपर्ने नगरप्रमुख तुम्बाहाम्फेले बताए ।
विसं २०५० तिर ट्र्याक खुला भए पनि म्याङलुङ–वसन्तपुर सडक पाँच वर्षअघि पहिलो पटक कालोपत्रे भएको थियो । तर दुई नबित्दै कालोपत्रे उप्किएर सडक कच्ची बनेको छ । वर्षायाममा हिलाम्मे हुँदा २६ किलोमिटर दूरीको सडक पार गर्न सार्वजनिक गाडीलाई छ घण्टासम्म लाग्ने गरेको छ । गाडी फसेर घण्टौँसम्म सडक जाम हुँदा यात्रुलाई समयमै गन्तव्यमा पुग्न मुश्किल पर्ने गरेको छ ।