फागुन १८ कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय क्याम्पस कीर्तिपुरका केन्द्रीय विभागहरुमा यसै वर्षदेखि सेमेस्टर प्रणालीमा भर्ना लिने निर्णय गरे पनि भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या घटेको छ । स्नातकोत्तर तहको भर्नाका लागि विद्यार्थीको निकै आकर्षण हुने गरेको केन्द्रीय विभागहरुमा सेमेस्टर प्रणालीको प्रवेश परीक्षाका लागि आवेदन माग गरिएकामा निकै न्यून सङ्ख्यामा विद्यार्थीले आवेदन भरेका छन् ।
आवश्यक पूर्वाधारबिना सेमेस्टर प्रणाली लागू गर्न नहुने नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियुलगायतका विद्यार्थी सङ्गठनको माग तथा जसरी पनि लागू गर्ने विश्वविद्यालय प्रशासनको तयारीबीचको लामो विवादमा सहमति भएपछि विश्वविद्यालयले यसै वर्षदेखि नै केन्द्रीय विभागहरुमा सेमेस्टर प्रणालीबाट विद्यार्थी भर्ना लिने निर्णय गरेको थियो ।
विश्वविद्यालयअन्तर्गतकै निकायभित्र उही तह र विषयमा फरकफरक प्रणालीमा स्नातकोत्तर तहको पढाइ सुरु गर्न लागिएको भन्दै नेकपा-माओवादी निकट अखिल (क्रान्तिकारी) सहितका १२ विद्यार्थी सङ्गठन विश्वविद्यालयको निर्णयप्रति असहमति जनाउँदै सेमेस्टर प्रणालीका विरुद्धमा आन्दोलनसमेत गरिरहेका छन् ।
केही विद्यार्थी सङ्गठनको विरोधलाई दृष्टिगत गरी सुरक्षाकर्मीको परिचालनमा केन्द्रीय विभागहरुमा सेमेस्टर प्रणालीका लागि आवेदन फारम वितरण गरिएकामा अत्यन्त न्यून सङ्ख्यामा विद्यार्थीले आवेदन फारम भरेको केन्द्रीय विभाग सम्बद्ध कर्मचारीहरुले बताए ।
स्नातकोत्तर तृतीय वर्षको परीक्षाफल प्रकाशन भएको लामो समयपछि स्नातकोत्तर तहको भर्नाका लागि आवेदन फारम लिइएको, सेमेस्टर प्रणालीमा जाने निर्णयका सम्बन्धमा लामो समयसम्म अन्योलता कायम रहेको आदि कारण विद्यार्थी सङ्ख्या घटेको हुनसक्ने नेपाली केन्द्रीय विभाग कीर्तिपुरका कर्मचारी श्यामकृष्ण केसीले बताए ।
विश्वविद्यालयको पढाइ तथा परीक्षाका सम्बन्धमा भइरहेका ढिलासुस्ती तथा लापरबाहीलगायतका कारण सेमेस्टर प्रणालीमा भर्ना हुने चाहने विद्यार्थीको सङ्ख्या घट्दै गएको हुन सक्ने भनाइ विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका विद्यार्थी नेता पारस घिमिरेको छ । रासस
Comments



