काठमाडौं १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली चार दिन अघिदेखि बिरामी थिए । उनले ९ गतेको मन्त्रीपरिषद बैठक स्थगित गरे । १० गते आफू अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्धारा भृकृटीमण्डपमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अनुपस्थित बने । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबारदेखि कतार भ्रमणमा जाने तय भइसकेको र मन्त्रीपरिषद बैठकले भ्रमण स्वीकृत गर्नै पर्ने भएपछि ११ गते बालुवाटारमा छोटो बैठकमा भने सहभागि बने । तर, रातीदेखि नै अलिक कठिन भएपछि १२ गते बिहान ४ः३० मा उनी टिचिङ हस्पिटल भर्ना हुन पुगे ।

के भएको हो त ?
प्रधानमन्त्रीको मुख्य समस्या छातिमा संक्रमण र शरीरमा चिनी (सुगर) को मात्रा असन्तुलन भएको हो । चिकित्सकहरुको दाबी अनुसार उनको स्वास्थ्यमा भने क्रमिक सुधार छ ।
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको छातिमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलन देखिएको जानकारी दिँदै पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेको बताए ।
प्रधानमन्त्रीले दसैंमा टीका लगाउने क्रममा धेरै जनासँग सम्पर्कमा आएका कारण प्रधानमन्त्री ओलीलाई रुघाखोकी सरेको चिकित्सकहरुको अनुमान छ । प्रधानमन्त्री ओलीको दुवै मृर्गौला प्रत्यारोपण गरिएको थियो । मृर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुने चिकित्सकहरु बताउँछन् । यस्तो अवस्थामा रुघाखोकीका कारण पनि संक्रमण चाँडै बढ्ने खतरा रहने चिकित्सकहरु बताउँछन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।