नेकपा एमालेका नेता लालबाबु पण्डितले सरकार गठन पश्चात मात्र पार्टी एकताको पक्रिया अघि बढ्ने बताएका छन् । बामपन्थी गठबन्धनको सरकारको नेतृत्वबारे बोल्दै पण्डितले एमाले र माओवादी केन्द्रबीच एकीकरण सरकार गठन पछि हुने बताएका हुन् ।
पण्डितले अब बन्ने वामपन्थी गठबन्धनको सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताएका छन्। रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले भने –“पार्टी अध्यक्ष पदको निर्णय एमाले र माओवादी केन्द्र बीचको छलफलपछि मात्र हुनेछ ।”
नेता पण्डितले सरकार गठन भएपछि मात्र एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने बताउँदै राष्ट्रपति कार्यालयमा थाती रहेका राष्ट्रिय सभासम्बन्धी अध्यादेश पुनः विचार भई जारी हुने धारणा व्यक्त गरे ।
नेपाली काँग्रेसका नेता एनपी साउदले संवैधानिक राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण रोक्न नमिल्ने बताउँदै उक्त विधेयक स्वीकृत भएपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको गठन प्रक्रिया शुरु हुने र त्यसपछि नयाँ सरकार गठनको ढोका खुल्ने बताउँछन् ।
नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले एमाले र माओवादी केन्द्रका अध्यक्षमध्ये एकजना प्रधानमन्त्री र एकजना पार्टी अध्यक्ष बन्ने बताउँदै वामपन्थीको एकता देशमा राजनीतिक स्थायित्वका लागि भएको विचार व्यक्त गरे।
राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले वामपन्थी गठबन्धनबाट एक दलीय व्यवस्था आउन सक्ने खतरा रहेको उल्लेख गर्दै प्रदेश नं २ मा बन्ने प्रदेश सरकारले मधेशी जनताको भावनाअनुरुप कार्य गर्ने बताए।
Comments