छोरी मार्ने बाबु प्रहरी खोरमा

माघ २० । बाबु–आमाको माया छोराछोरी प्रति कति होला ? यस्तो प्रश्नको जवाफ नै हुँदैन । सन्तानको माया न तराजुमा जोख्न सकिन्छ नत व्यक्त गर्न नै । तर केही बाबु आमा यतिसम्म निर्दयी हुन्छन कि त्यो कल्पना पनि गर्न सकिन्न । हो यस्तै घटना घटेको छ । नेपालको नवलपरासीको बेनीमणिपुर गाविस–२ ढुँडेमा  । 
५९वर्षका कृष्ण सापकोटाले ३५ वर्षीया छोरी लक्ष्मीसिंह ठकुरीको हत्या गरेका छन् । आफ्नै बाबुले छोरीको हत्या गरेको उक्त घटना प्रहरी अनुसन्धानका क्रममा खुलेको हो । छोरी लक्ष्मी दुई दिनदेखि गाउँमा नदेखिएपछि गाउँलेले प्रहरीमा उजुरी दिएका र उजुरीपछि उनलाई खोज्ने क्रममा उनका बाबुले नै हत्या गरेको रहस्य खुलेको हो । 
करीब नौ महिनादेखि माइतीमै बस्दै आएकी छोरी र बुबाबीच घर नगई माइतमा बसेको भन्ने विषयमा पटकपटक विवाद हुने गरेको र गत माघ १६ गतेपछि सोही विषयमा विवाद हुँदा दुईबीच कुटाकुट भएको र सोही क्रममा बाबुले छोरीको हत्या गरेको इलाका प्रहरी कार्यालय नवलपुरले बताएको छ ।  
बुबा सापकोटाले छोरीको हत्या गरी घर नजिकै खाडल खनेर पुरेको समेत अनुसन्धानमा खुल्न आएको छ । सापकोटाले झगडा हुने क्रममा पिट्दा घरको धुरीखाँबोमा ठोक्किएर छोरीको मृत्यु भएको र मृत्युपछि आफैँले जमिनमुनि गाडेको प्रहरीसामु बयान दिएका थिए ।  उनलाई अहिले इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीमा राखिएको छ  । सापकोटाले माघ १६ गते हत्या गरेको बुझिएको छ । उनका अनुसार तीन दिनसम्म लक्ष्मी नदेखेपछि स्थानीय जनताले शङ्काको आधारमा आइतबार प्रहरीमा उजुरी गरेपछि बुबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको  थियो ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।