काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपनिर्वाचन हुन लागेका करीब ८० प्रतिशत बढी स्थानमा नेकपाले जित हासिल गर्ने दाबी गरेका छन् । उनले उपनिर्वाचनले जनताका पक्षमा नै नेकपाको सरकारले काम गरिरहेको छ भन्ने तथ्य स्थापित गर्ने भएकाले निर्वाचनमा अनुशाासित भएर परिचालित हुन र नेकपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । राष्ट्रिय युवा सङ्घको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकताका आधारमा गरिएको एकतालाई जीवन्त बनाउन र आम जनताको बीचमा लैजान युवालाई आग्रह गरे ।

संसारभरबाट नेपाललाई हेरिरहेको दृष्टान्त पेश गर्दै उनले राष्ट्रिय अन्तरराष्ट्रिय परिवेशका आधारमा नेकपालाई थप परिस्कृत र विकसित बनाएर लैजाने सोचमा आफूहरु रहेको बताए । उनले नेपालको प्राकृतिक स्रोत साधनलाई अधिकतम प्रयोग गर्ने, मानवीय स्रोत साधनको अधिकतम प्रयोग गरी भौतिक पूर्वाधारको विकासमा लागिपरेको बताए । विकास निर्माणको कामले गति लिएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले द्रुत गतिको रेलमार्ग, खनिज स्रोतको विकास, श्रमको सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । सङ्घीय, प्रदेश र स्थानीय सरकार नेकपाको नै भएकाले युवालाई अब उत्पादनतर्फ केन्द्रित गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “विकास निर्माणको कामलाई अगाडि बढाउन मैले विगतदेखि भन्दै आएको उत्पादन बिग्रेड निर्माण गर्नुपर्छ ।” युवा स्वरोजगार कार्यक्रमलाई समेत युवाले विशेष ध्यान दिएर जान निर्देशन दिँदै उनले सडक निर्माण, श्रम शिविर सञ्चालन तथा अन्य व्यावसायिक काम शुरु गर्नसमेत ध्यानाकर्षण गराए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।