सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकताले राष्ट्रियरूपमै एकताको सन्देश दिएको बताएका छन् । नेकपा र राष्ट्रिय जनमोर्चाले आज बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा उपनिर्वाचनका लागि आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनावी मैदानमा जानुले मुलुकभर एकताको सन्देश गएको बताए ।

“नेपालको विकासका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प छैन”, अध्यक्ष दाहालले भने, “अब कम्युनिष्टहरु फुटेर होइन, जुटेर अगाडि बढेको सन्देश वाम गठबन्धनले दिएको छ ।”

“एकताको प्रतीकका रुपमा बागलुङको वाम गठबन्धनलाई हेर्न सकिन्छ”, भन्दै उनले केन्द्रले दिएको जिम्मेवारीअनुसार नेकपाले राजमोलाई सर्मथन गरी अत्यधिक मतले साझा उम्मेदवार खिमविक्रम शाहीलाई विजयी गराउन आग्रह गरे । उपस्थित नेता–कार्यकर्ताकको उत्साहलाई देखेर आजै निर्वाचन जितेजस्तै भएको महसुस भएको भन्दै उनले खुशी व्यक्त गरे ।

फरक प्रसङ्गमा उहाँले अहिले भारतले मिचेको भूमि नेपालकै भएको भन्दै भ्रममा नपर्न जनतालाई आग्रह गर्दै सरकारले सीमा समस्या समाधान गर्ने बताए । अध्यक्ष दाहालले विकासमा पछाडि परेको बागलुङको पश्चिम क्षेत्रमा विकासको लहर आउने भन्दै मध्यपहाडी लोकमार्गको सबै खण्ड कालोपत्र, सालझण्डी–ढोरपाटन सडकले पूर्णता र उत्तरगङ्गा जलाशय जलविद्युत आयोजनाले गति लिने बताए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।