कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग

काठमाडौं । बरियारपट्टी गाउँपालिकाले केही महिनाअघि ग्यास सिलिन्डर विस्फोटमा परी निधन भएका आफ्ना कार्यपालिका सदस्य ललिताकुमारी यादवको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
मृतक यादवका परिवारलाई गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले सात लाखको चेक हस्तान्तरण गरे । मृतक यादवका जेठा छोरा तुलसीराम यादवलाई उक्त चेक हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए । गत वैशाख १० गते घरमै खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएपछि कार्यपालिका सदस्य यादवको निधन भएको थियो । उनका दुई छोरा र एक छोरी छन् ।

दलित परिवारलाई चामल

सिरहाका एक व्यक्तिले दलित र विपन्न परिवारलाई चामल बाँडेर जन्मदिन मनाएका छन् । लामो समयदेखि खाडी मुलुक दुबईमा रोजगारी गर्दै आएका गोलबजार घर भएका धनपति महतोले आफ्ना नाति अदरित महतोको आठौँ जन्मदिनको अवसर पारेर दलित मुसहर समुदायलाई मङ्गलबार चामल बाँडेका हुन् । महतोले गोलबजार नगरपालिका–१ स्थित मुक्सार गुलरियाका ५० घर मुसहर परिवारलाई चामल बाँडिएको जानकारी दिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।