पुस २२ । दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्ने संविधानसभा सदस्यहरुलाई काम गर्न सजिलो हुने गरी संविधानसभा सचिवालयले परामर्श एवं सचेतीकरण कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
विभिन्न जिल्लाबाट निर्वाचित तथा समानुपातिकबाट चयन भई काठमाडौँ आउने सदस्यहरु संविधानसभा नियमावली, कार्यविधि तथा केही प्राविधिक शब्द–शब्दावलीबारे अनभिज्ञ हुने हुनाले सोबारे आवश्यक परामर्श तथा मैत्रीपूर्ण वातावरण तयार गर्न त्यस्तो कार्यक्रम आयोजना गर्न लागिएको सचिवालयले जनाएको छ ।
विघटित संविधानसभाका सदस्यहरूलाई सोबारे परामर्श तथा सचेतीकरण कार्यक्रम नगर्दा बैठक सञ्चालन तथा काम गर्ने क्रममा प्राविधिक समस्या आएको अनुभवले यसपालि नयाँ सभासद्लाई सोबारे आवश्यक परामर्शको आवश्यकता महसुस भएको सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए ।