काठमाडौँ — कोभिड–१९ का सम्भावित संक्रमितलाई राख्ने ‘डेडिकेटेड’ अस्पतालमा रूपान्तरण भएपछि सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पताल परिसरका सबै युनिट अन्यत्र सारिँदै छन् । त्यहाँ भर्ना भएर उपचाररत सबै बिरामीलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा सार्ने तयारी गरिएको छ । बलम्बुमा करिब डेढ सय बिरामी उपचाररत छन् । डिस्चार्ज गर्न मिल्नेलाई घर पठाउने सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले कोभिड–१९ सम्बन्धी बिरामी उपचार गर्न सक्ने गरी पूर्वाधार दुई दिनभित्र तयार गरिने बताए । सरकारले गत साता एपीएफ अस्पताल र परिसरमा कोभिड–१९ संक्रमणको लक्षण देखिएका बिरामीको उपचार तथा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो ।
अस्पताल परिसरमै रहेको सशस्त्र प्रहरी बल ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालयको संरचना ज्ञानेश्वरस्थित सशस्त्र प्रहरी बल स्टाफ कलेजमा सारिँदै छ । बाहिनीका ब्यारेक र अन्य कार्यालय पनि ज्ञानेश्वरमै सारिएका छन् । स्टाफ कलेजलाई सशस्त्र प्रहरीको मातातीर्थस्थित एकेडेमीमा सार्न लागिएको कान्तिपुर दैनिकमा खबर छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।