रामचन्द्र न्यौपाने
डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ की २१ वर्षीया गर्भवती बिपना रोकायालाई हवाई उद्धार गरिएको छ । सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनीको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गरेका थिए । चिकित्सकका अनुसार उनीको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ ।
आज नेपाली सेनाको हेलिकप्टरद्वारा जिल्ला सदरमुकामबाट दुनैबाट उनीलाई उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ । बिपनालाई सुत्केरी गराउन यही वैशाख २ गते जिल्ला अस्पताल ल्याएको उनका श्रीमान लक्ष्मी रोकायाले जानकारी दिए । उनले श्रीमतीको पेटमा शिशु उल्टो रहेकाले सुर्खेत लैजानुपर्छ भनेकाे बताए ।
Comments