प्रचण्ड सप्तरीमा जाने थाहा पाउनसाथ सप्तरी बन्द

कार्तिक २१ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा नेताहरू बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चुनावी सभालाई सम्बोधन गर्न आउने भएपछि नेकपा–माओवादीले आज सप्तरी जिल्ला बन्द गरेको छ ।

चुनावी सभालाई बिथोल्ने प्रयासस्वरुप नेकपा–माओवादीका जिल्ला इन्चार्ज देवनाथ यादवले एक विज्ञप्ति जारी गरी जिल्ला बन्दको आह्वान गरेका हुन् । बन्दका कारण आज बिहानैदेखि भाडामा चल्ने ठूला तथा साना सवारीसाधन ठप्प हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

अध्यक्ष दाहालसहितका एमाओवादी नेताहरू सो पार्टीले भारदह, कञ्चनपुर, राजविराज, कल्याणपुरमा सञ्चालन गर्ने चुनावीसभालाई सम्बोधन गर्न झापा, मोरङ, सुनसरी जिल्ला हुँदै आज सप्तरी आउने कार्यक्रम छ ।

एमाओवादीले संविधानसभा चुनावलाई लक्षित गर्दै मेचीको काँकडभिट्टादेखि महाकालीको महेन्द्रनगरसम्मको ‘मेची महाकाली राष्ट्रिय जागरण अभियान’ बुधबारदेखि सुरु गरेको हो ।

यसैबीच, मोटरसाइकलका कारण आपराधिक घटना हुन सक्ने भन्दै सप्तरी जिल्ला प्रशासनले आजबाट जिल्लामा भारतीय मोटर साइकल सञ्चालनमा निषेध गरेको छ । आसन्न संविधानसभाको निर्वाचनमा आपराधिक व्यक्तिहरूको सम्भावित प्रवेशलाई ध्यानमा राखी आगामी मङ्सिर ४ गतेसम्मका लागि भारतीय नम्बरका मोटरसाइकल चलाउन निषेध गरिएको हो । -रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।