कात्तिक ५ । साउदी अरब, कतार, मलेसिया र बहराइनलगायत खाडी मुलुकमा जाने हवाई टिकट नपाउँदा धेरै जना राजधानीमै अलपत्र परेका छन् ।
गत महिनादेखि नै खाडी मुलुक हुँदै अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालन गर्दै आएका विमान कम्पनीहरूले भनेको बेलामा हवाई टिकट उपलब्ध गराउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।
भनेको बेलामा टिकट नपाएकै कारण तिहार र छठ मनाउन मलेसियाबाट घर फर्कने नेपाली यात्रुहरू पनि क्लालालम्पुर विमानस्थलमा रोकिन बाध्य भएका छन् ।
नेपाल वायुसेवा निगमको उडान कमजोर भएकाले पनि यस्तो समस्या वर्षेनी थपिर्दै गएको सम्बन्धित पक्षको भनाई छ ।
हरेक वर्ष विदेशी विमानलाई अर्बौं रुपैयाँ बुझाउन सक्ने सरकारले निगमलाई आवश्यक नयाँ जहाज ल्याउने कार्यलाई लम्बाउँदै आएका कारण अहिले वैदेशिक रोजगारीमा जानेहरूले अन्तर्राष्ट्रिय हवाई टिकट पाउन कठिन बनेको हो ।
अहिलेसम्म सरकारले बढी भाडा लिने कार्य नियन्त्रणका लागि अनुगमनसमेत नगरेकाले गत १५ सेप्टेम्बरदेखि नै हवाई टिकट पाउन मुस्किल भएको पाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) का प्रथम उपाध्यक्ष मधुसूदन आचार्यको भनाई छ ।



