३१ असोज, सिरहा । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्नप्रसाद सिंहमाथि बुधबार राति आक्रमण भएको छ ।

बकरिदका अवसरमा बलकवा-४मा क्षेत्र नं ५ का उम्मेदवार जाबेद खाँको घरमा शुभकामना आदान प्रदान गर्न पुगेका बेला सिंहलगायत फोरम नेता तथा कार्यकर्तामाथि आक्रमण भएको हो । आक्रमणबाट उम्मेदवार सिंह चढेको बा८च १७९२ र कार्यकर्ता चढेको बा३च ८८३७ नम्बरको गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पूर्वराज्यमन्त्रीसमेत रहनुभएका सिंहको गाडीबाट आक्रमणकारीले रु एक लाख, पर्चा, पम्प्लेट र पार्टीका झन्डा लुटेर लगेको बताइएको छ । फोरम (लोकतान्त्रिक)बाट क्षेत्र नं ५ का उम्मेदवार रहनुभएका जाबेदको घरमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

राति ८ बजेदेखि एक घन्टासम्म फोरम -लोकतान्त्रिक)का उम्मेदवार जाबेदका घरमा आक्रमणकारीले ढुङ्गामुढा गरेका थिए । आक्रमणबाट बच्न उम्मेदवार जाबेदको घरमा लुके पनि ढोका र झ्याल फोरेर आफूलाई मार्न खोजिएको उम्मेदवार सिंहले बताउनुभयो ।

“शुभकामना आदानप्रदान गर्न बलकवा जाँदा गोलबजार प्रहरीलाई जानकारी गराएको थिएँ”, उम्मेदवार सिंहले भन्नुभयो, “तर पनि सुरक्षाकर्मीले गम्भीर रुपमा लिएनन्, आक्रमण भएका बेला पनि एसपीलाई फोन गर्दा अहिले राति भएकाले सुरक्षा दिन नसक्ने प्रतिक्रिया दिनुभयो ।”

नेपाली काँग्रेस क्षेत्र नं ५ को सभापति पद त्यागेर फोरम -लोकतान्त्रिक)मा प्रवेश गर्नुभएका चन्द्रदेव यादव पनि आक्रमण भएका बेला उम्मेदवार सिंहसँगै हुनुहुन्थ्यो । चन्द्रदेवले भन्नुभयो, “म काँग्रेस छाडेर फोरम (लोकतान्त्रिक)मा गएपछि काँग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् ।”

प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले आक्रमणबारे थाहा पाउनेबित्तिकै सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रातिको समय भएकाले सुरक्षा दिन अप्ठयारो भयो, घटनाबारे अनुसन्धान हुँदैछ ।”

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।