काठमाडौँ, २० मंसिर । सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फ सप्तरीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ ।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो ।

यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उहाँको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि आयोगले यही मंसिर ११ गते उम्मेदवारी खारेज गरेको थियो । यादव सर्लाही निर्वाचन क्षेत्र नं ४ मा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार थिए ।

सो उम्मेदवारी खारेजीका विरुद्ध अन्तरिम आदेश माग गर्दै यादवले यही मंसिर १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

मंगलबार न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आयोगको निर्णयविरुद्ध यादवको मुद्दामा कारण देखाउ आदेश जारी गरी छलफलका लागि आजलाई बोलाएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।