असोज ५ । कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मा राजदूतबाट फिर्ता हुने निश्चित जस्तै भएको छ ।

आफैँले दिएको विवास्पद अभिव्यक्तिका कारण विवादमा पर्दै आएकी उनलाई फिर्ता बोलाउन कतार सरकारले दोस्रो पटक नेपाल सरकारसँग आग्रह गरेपछि सरकारलाई फिर्ता बोलाउन दबाब थपिएको थियो ।

डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा माओवादी कोटाबाटै राजदूत बनेकी उनलाई शुक्रबार माओवादी केन्द्रीय कार्यालयको बैठकले फिर्ता बोलाउन सरकारसँग सहमति जनाएको थियो ।

त्यसपछि शुक्रबार दिउँसो नै उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरी राजदूतबाट फिर्ता हुन निर्देशन दिएका थिए ।

एमाओवादीले नै सरकारसँग फिर्ताको विषयमा सहमति जनाईसकेको अवस्थामा अब उनले स्वतः राजीनामा नदिए सरकारले बर्खास्त गर्ने सम्भावना हुन्छ । तर पार्टीले फिर्ता बोलाएकाले आफैँ उनी राजीनामा दिएर फर्कने सम्भावना बढी छ ।

यसअघि उनले कतारलाई खुला जेल भनेर एक कार्यक्रमबाट अभिव्यक्ति दिएकी थिइन् । त्यसको कतारले विरोध गरेको थियो । पुनः मायाकुमारीले एक नेपाली स्तम्भकारलाई आफ्नो विरुद्ध लेखेको भन्दै कतार सरकारलाई देश निकाला गर्न पत्र लेखेकी थिइन् । त्यसको चौतर्फी विरोध भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।