सम्राट सिमेन्टमा लगानीकर्ताबीच विवाद, बैंक खाता तथा कारोबार रोक्काको माग

काठमाडाैं । सम्राट सिमेन्टका लगानीकर्ताहरुबीचको विवाद सतहमा आएको छ । १ अर्ब २० करोड लगानीको यस सिमेन्ट उद्योगमा बिशेषगरि संस्थापक तथा पछिल्ला लगानीकर्ताहरुबीच लगानीको बिषयलाई लिएर विवाद बढेको हो।

अध्यक्ष मुकुन्द तिमिल्सेनाले यस कम्पनीको खाता तथा कारोबार रोक्का राख्न भन्दै बैंकलाई पत्र लेखे पश्चात सम्राट सिमेन्टमा लगानीकर्ताहरुबीच विवाद रहेको खुल्न आएको हो। अध्यक्ष तिमिल्सेनाले यस अघिका सम्झौतामा तोकिए बमोजिमको समय तथा शर्त बमोजिम सेयर खरिद बिक्रि तथा भुक्तानी सम्बन्धि व्यवस्थाहरु कार्यन्वयन हुन नसकेकाले बिभिन्न बैंकमा रहेका यस कम्पनीको खाता तथा कारोबार रोक्का राख्नलाई निबेदन दिएको जनाइएकाे छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

प्राप्त जानकारीअनुसार सम्राट सिमेन्टका अध्यक्ष र चौधरी ग्रुप तथा पुराना साझेदार अनिल रिङ्गटाबीच २०७७ चैत ३ गते सम्राट सिमेन्ट कम्पनीको सेयर खरिद बिक्रि तथा भुक्तानी सम्बन्धि सम्झौता भएको थियो। चौधरी ग्रुपले सम्राट सिमेन्टको ३० प्रतिशत र अनिल रिङ्गटाले ४.२५ प्रतिशत सेयर खरिद गर्ने र यी दुवै पक्षले २०७८ बैशाख २० गते भित्र सेयर बापतको पैसा तिर्ने गरि २०७७ चैत ३ गते सम्झौता भएको थियो।

झन्डै ६० दिन बढी हुँदा पनि सेयर बिक्रि गरे बापतको भुक्तानी नपाएपछि सम्राट सिमेन्टका अध्यक्ष तिमिल्सेनाको समुहले सम्राट सिमेन्टको खाता तथा कारोबार रोक्का राख्नलाई आफ्ना साझेदार बैकहरुलाई पत्र लेखेको हो।

सम्राट सिमेन्टका अध्यक्ष तिमिल्सेनाको अध्यक्षतामा यहि असार २४ गते बिहान १० बजे बसेको संचालक समितिको बैठकले सम्राट सिमेन्टको खाता तथा कारोबार रोक्का राख्नलाई आफ्ना साझेदार बैकहरुलाई पत्र लेख्ने निर्णय गरेको हो। यतिमात्र नभई उक्त दिन बसेको संचालक समितिको बैठकले चौधरी ग्रुपबाट प्रतिनिधित्व गरिरहेका दुई सदस्यलाई संचालक समितिबाट हटाएर पुर्व संचालक समितिलाई मान्यता दिएको समेत पाइएकाे छ। २०७७ साल चैत ३ गते चौधरी ग्रुपलाई ३० प्रतिशत सेयर बिक्रि गर्ने सम्झौता भएको बेला संचालक समितिमा चौधरी ग्रुपबाट २ जना र तिमिल्सेना समुहबाट २ जना गरि ४ जना हुने गरि संचालक समिति बनाउने निर्णय भएको थियो।

सेयर बिक्रि गरे बापतको भुक्तानी नपाएपनि कम्पनीले आफ्नो नाफाको हिस्सा चौधरी ग्रुपलाई दिन परिरहेकाले अध्यक्ष तिमिल्सेनाको समुहले यस्तो निर्णय गरेको स्रोतको दाबी छ। २०६९ सालमा स्थापना भएको सम्राट सिमेन्टले पछिल्लो दुई वर्ष यता दैनिक ४५ सय टन क्लिन्कर सिमेन्ट बनाउन प्रयोग हुने प्रमुख कच्चा पदार्थ अर्थात उत्पादन गर्दै आएको छ।