भदौ १७ । जुवामा पैसा हारेपछि चितवनको भन्डारा घर भई बत्तीसपुतली बस्दै आएका ३४ वर्षीय धर्मराज वलीले आफु अपहरणमा परेको नाटक गरी आफन्तसँग पैसा उठाउने प्रयास गरेका छन् ।उनले अपहरणको नाटक गर्दै श्रीमतीसंग ५० लाख फिरौती मागेको थिए ।
उनको नाटक पत्ता लगाएपछि वलीलाई प्रहरीले थुनामा राखेको छ । प्रहरीका अनुसार वलीले केही दिनअघि जुवामा करिब तीन लाख रुपैयाँ हारेका थिए । पैसा हारेपछि तनावमा परेका उनले आफन्तबाट पैसा उठाउन खोजेका हुन् ।
सालो अस्ट्रेलियामा रहेकाले अपहरणमा परेको भनेपछि पैसा पठाइदिने विश्वासमा उनले आफू अपहरणमा परेको भन्दै श्रीमतीलाई फोन गरेका हुन् । शुक्रबार दिउँसो एक बजे उनले आफूलाई चार व्यक्तिले अपहरण गरेको भन्दै श्रीमतीलाई फोन गरेका थिए ।
५० लाख नदिए आफूलाई मारिदिने धम्की दिएको भन्दै नाटक गरेका थिए । पछि अहिलेलाई खातामा ५ लाख रुपैयाँ हालिदिए छोडिदिने बताएका थिए । श्रीमतीले इन्भेस्टमेन्ट बैंकमा रहेको खातामा पैसा हालिदिएको बताएपछि उनी आफैं लिन गएका थिए । त्यसक्रममा वली पक्राउ परेका आजको नयाँ पत्रिकामा खबर छ ।



