यथास्थितिमा कुनै पनि हालतमा चुनाव गराउन नदिने उदघोष गरेको बेला यस्तो फोटो सार्वजनिक भएपछि त्यसले निक्कै ठूलै त्रास पैदा गरिदिएको छ ।
अझ, अन्तिम चरणमा चार दल र नेकपा माओवादी नेतृत्वको ३३ दलबीच वार्ता भंग भएपछि माओवादीले जुनसुकै मूल्य चुकाएर पनि निर्वाचन हुनै नदिने रणनीति अख्तियारलाई प्रमुखतामा ल्याएको छ ।
नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् सेती महाकाली राज्य समिति इन्चार्ज ओमप्रकाश पुनले केही समय अगाडी फेसबुकमा सार्वजनिक गरेको तस्वीरहरु । |
संविधानका अन्तरवस्तु माथि गोलमेचले टुंग्याउने तथा वर्तमान सरकारका विषयमा पनि गोलमेचबाटै टुंगो लगाउने तर निर्वाचन पछि धकेलेर आफूहरु पनि सामेल हुने मनस्थितिमा पुगेको माओवादी नेतृत्व चार दलले आफ्ना मागप्रति कुनै सम्बोधन नगरेपछि आफ्ना माग पूरा गर्न आन्दोलन बाहेक अन्य विकल्प नरहेको निष्कर्षमा माओवादी पुगेको छ ।
जस अन्तर्गत प्रचार प्रसार तथा घरदैलो गरेर जनतालाई चुनाव बहिस्कार गर्न लगाउने तथा सरकारले सेना नै परिचालन गरे त्यसको सशक्त प्रतिकारका लागि फौजी नीति समेत अपनाएर भएपनि चुनाव बिथोल्नेमा माओवादी नेता तथा कार्यकर्ता झन् कस्सिएर लागेका छन् ।
जसका लागि माओवादीले चरण चरणका आन्दोलन सञ्चालन गरिरहेको छ । विभिन्न जिल्लामा युवाहरुलाई संगठित रुपमा तालिम समेत दिन थालेको सञ्चारमाध्यमहरुमा समाचार आउन थालेका छन् ।
यसै क्रममा, जिल्ला तथा गाउँहरुमा माओवादीले सभा आयोजना गर्दै चुनाव बहिस्कार मात्रै नभएर ध्वस्त पार्ने चेतावनी दिईरहेको छ ।
केही दिन अघि मात्र नेकपा माओवादी महोत्तरीले क्षेत्र नम्बर १ अन्तर्गत किसान नगर, विजुलपुरा, पशुपतिनगर लगायत विभिन्न क्षेत्रमा कोणसभा आयोजना गरी यथास्थितिमा चुनाव भए त्यसलाई बहिस्कार मात्रै नभएर ध्वस्त नै पार्ने चेतावनी दियो ।
कार्यक्रममा सम्बोधन गर्दै जिल्ला सेक्रेटरी हरिकृष्ण गजुरेलले चार दल बार्ताबाट भागेर बलपूर्वक कथित निर्वाचन सम्पन्न गर्ने अभियानमा लागेको भन्दै त्यसरी निर्वाचन गरे त्यसको परिणाम निक्कै खतरा हुने चेतावनी दिए ।
उनले चार दललाई यथास्थितिमा निर्वाचन गराएर देखाउन चुनौती समेत दिएका छन् ।
यसैगरी, नेकपा माओवादी भोजपुरले पनि बलपूर्वक निर्वाचन गराए कुनै पनि हालतमा हुनै नदिने भन्दै जिल्ला भरी सञ्चालन गरेको भित्ते लेखन तथा घर दैलो अभियान अन्तिम चरणमा पुर्याएको छ ।
जिल्ला नेता चन्द्र बुढाथोकीले हेलोखबर डटकमसँग भने- ‘निकास नदिने निर्वाचन गराउनुको कुनै औचित्य रहदैन । र त्यो हामी कुनै पनि हालतमा गराउन दिदैनौँ ।’
माओवादीले चुनाव बहिस्कारको अभियानलाई देशैभर सञ्चालन गरिरहेको छ । ठाउँ ठाउँमा चुनाव बहिस्कारका नारासहितका पम्प्लेट तथा भित्ते लेखन गरी रंग्याएको छ ।
तर, एक पक्ष जसरी पनि सेना परिचालन गरेर भएपनि निर्वाचन गराउने पक्षमा लाग्नु र अर्को पक्ष जुनसुकै मूल्य चुकाएर भए पनि चुनाव हुनै नदिने तयारीमा लाग्नुले देश चाँडै मुठभेडको बाटोमा जाँदै गरेको बुझ्न सकिन्छ भने यस्तो किसिमबाट हुने निर्वाचनबाट संविधान बन्नेमा कुनै आधार समेत पाउन गाह्रो पर्छ ।
एकले अर्कालाई निषेध गरेर यस्ता विषयमा अगाडी बढ्दा देश दुर्घटनामा पर्ने खतरा उति नै छ ।