इलाम, २३ कात्तिक । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिएका छन् ।

चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दै छन् । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली काँग्रेसबाट उम्मेदवार छन् ।

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ नागरिक राई नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । “ज्येष्ठताका आधारमा मैले चुनाव जित्छु”, राईले भने ।

राईका प्रमुख प्रतिस्पर्धी नेम्वाङ उहाँभन्दा १४ वर्ष तथा थापा २० वर्ष कान्छा हुन् ।

यस्तै, क्षेत्र नं २ को प्रदेशसभा (क) मा उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे पनि ७० वर्ष पुगे । उनी १५ वर्ष कान्छो उम्मेदवार नेकपा (एमाले)का राम राना तथा राप्रपाका ३१ वर्षीय नसिप राईसँग प्रतिस्पर्धा गर्दैछन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।