साउन १३ । राजस्व छलीको शंकामा अनुसन्धान भइरहेको अवस्थामा शंकास्पद व्यक्ति भाग्ने प्रयास गरे वा हूलहुज्जत गरे गोली समेत हान्न सकिने भएको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशकलाई गोली हान्ने आदेश दिने अधिकार प्राप्त भएसँगै अब यस्तो काम गरेमा महानिर्देशकले गोली हान्न आदेश दिन सक्ने भएका हुन् ।

राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को संशोधन गर्दै आर्थिक अध्यादेश २०७० ले ऐनको दफा ३७ पछि ३७ ९क० थप गरेर विभागका महानिर्देशकलाई गोली समेत हान्ने आदेश दिने अधिकार दिएको हो ।

ऐनको थप गरिएको दफामा ‘राजस्व प्रहरीको छुट्टै व्यवस्था नभएसम्मका लागि नेपाल सरकारले विभागअन्तर्गत रहने गरी आवश्यकता अनुसार सशस्त्र प्रहरी बलका अधिकृत एवं जवानलाई आवश्यक संख्यामा संलग्न गरी राजस्व प्रहरीका रूपमा काममा खटाउन सकिने उल्लेख छ ।

अब राजस्व छली गरेको शंकामा अनुसन्धान गर्ने क्रममा ‘पक्राउ गर्न खोज्दा निजले जोरजुलुम गरेमा वा भाग्न उम्कन खोजेमा र तत्काल पक्राउ गर्न नसकिने अवस्था भएमा आफ्नो रक्षा र कर्तव्य पालनाका निम्ति महानिर्देशक वा सम्बन्धित अनुसन्धान अधिकृतको आदेशले घटनास्थलमा खटिएको राजस्व प्रहरीले त्यस्तो घटना रोक्न पहिले हवाई फायर गर्ने र त्यसो गर्दा पनि स्थिति नियन्त्रण नभए वा हूलहुज्जत गर्ने व्यक्तिसँग समेत हतियार भएमा कम क्षति हुनेगरी गोलीसमेत चलाउन सक्नेछ ।

त्यस्तैगरी राजस्व छलीको वस्तु ढुवानी गरेको शंका लागेका सवारी साधन अनुसन्धानका लागि रोक्न आदेश दिँदा नरोकी भाग्ने प्रयास गरे वा हूलहुज्जत गरे पनि राजस्व प्रहरीलाई गोली हान्ने आदेश दिन सकिने समेत खबर आजको राजधानी दैनिकले छापेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।