असार २५ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण दिनभर आन्दोलन र वार्ता टोलीको घोषणा गर्न राजधानीमै थिए । उनले सयौँ आफ्ना समर्थक र सञ्चारकर्मीहरुका बीच राजधानीको राष्ट्रिय सभागृहमा वार्ता र आन्दोलन सँगसँगै जाने भनेर जानकारी गराए ।

सोही कार्यक्रममा उनको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोलीको समेत घोषणा गरियो ।

तर राति भने अध्यक्ष वैद्य सुटुक्कै उपाध्यक्ष सिपी गजुरेलका साथ उत्तरी छिमेकी चीनको भ्रमणमा निस्किएका छन् ।

वार्ता टोलीको घोषणा गरेकै दिन अनि भारतीय विदेशमन्त्री सल्मान खुर्सिद नेपाल आउने अघिल्लो दिन चीन भ्रमणमा निस्कनुलाई निक्कै महत्वका साथ हेरिएको छ ।

तर, माओवादीले भने यस भ्रमणलाई समसामयिक र पूर्व निर्धारित भएको बताएको छ । नेकपा माओवादीका केन्द्रिय सदस्य महेश्वर दाहालले अध्यक्षको भ्रणम चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा भएको जानकारी दिए ।

चीनकै निमन्त्रणामा हुन लागेको भ्रमणमा समसामयिक राजनीतिक अवस्था र दुई देशबीच हुनसक्ने सम्भावना र चुनौतीका विषयमा भ्रमणका छलफल हुने दाहालको भनाई छ ।

गएराति नेकपा-माओवादी अध्यक्ष चीन भ्रमणमा निस्किएका छन् भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंगापुरमा छन् । त्यस्तै कांग्रेस सभापति सुशिल कोइराल पनि अमेरिकाको भ्रमणमा छन् ।

शिर्ष नेताहरु सबै विदेशमा भएको बेला आज भारतीय विदेशमन्त्रीको भने नेपाल भ्रमण हुन लागेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।