असार २१ । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य सुरेन्द्र पाण्डेले आफूलाई ध्वस्त पार्न सुनियोजित रुपमा युनिटीकाण्डमा मुछेको आरोप लगाएका छन् ।
केही दिन अघि मात्र एक साप्ताहिकले युनिटी लाइफ इन्टरनेशनलसँग ५ करोड रुपैयाँ लिएको खबर छापेपछि उनले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो जनाएका हुन् ।
आफू अर्थमन्त्री भएको सरकारले नै यूनिटी प्रकरणका दोषिहरुमाथि कारवाही गरेको भन्दै कारबाही कसैसँग पनि साँठगाँठ हुनै नसक्ने बताए । पाण्डेले पार्टीको महाधिवेशन नजिकिँदै चरित्र हत्या गर्ने नियतले आएका समाचारले धेरै आशंका जन्माएको समेत बताएका छन् ।
युनिटीमा सम्बद्ध एक व्यक्तिलाई उद्धृत गर्दै पत्रपत्रिकामा समाचार छपाउनु बदनियतपूर्ण, सुनियोजित तथा राजनीतिक रुपले मेरो निजी र सार्वजनिक छविमाथि आँच पुर्याउने कुनियतले गरिएको दुष्कर्म हो भन्ने आफूलाई लागेको उनको भनाई छ ।