नेकपा–माओवादीका बहुमत केन्द्रिय सदस्य चुनाव बहिस्कारकै पक्षमा

असार १६ । नेकपा–माओवादीको पोखरामा जारी पूर्ण केन्द्रीय समितिको आजको बैठकमा अध्यक्ष मोहन वैद्यको प्रस्तावमा बोल्ने धेरैजसो केन्द्रीय सदस्यले निर्वाचन वहिष्कारका पक्षमा मत व्यक्त गरेको थाहा भएको छ ।

आगामी मङ्सिर ४ गते घोषणा गरिएको संविधानसभा निर्वाचन बहिष्कार गर्ने निर्णय आउने लगभग निश्चित भएको एक केन्द्रीय सदस्यले बताएको राससले लेखेको छ ।

वैद्यद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा वर्तमान सरकार विघटन गरी सर्वदलीय सरकार गठन गर्नुपर्ने, अहिलेको अवस्थामा चुनावमा भाग नलिई त्यसको विरोध गर्ने लगायत विषय समावेश गरिएको छ । कम्युनिस्ट पार्टीहरू नेकपा(एकीकृत), मातृका यादव नेतृत्वको नेकपा(माओवादी) र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीसँगको एकीकरणबारे पनि बैठकले टुङ्गो लगाउने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा पूर्ण र वैकल्पिक गरी एक सय ५१ केन्द्रीय सदस्य र ५२ सल्लाहकार सहभागी छन् । पोखरा–१२ स्थित मार्फा थकाली समाजमा जारी बैठक यही असार १८ गते सकिने बताइएको छ ।