काठमाडौँ ९ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले पूर्व राजा ज्ञानेन्द्र शाह निर्वाचनमा गएर जितेको खण्डमा शासन सत्ता सञ्चालन गर्न सक्ने स्थानमा पुग्न सक्ने बताएका छन् ।
उनले पूर्व राजा शाह जननिर्वाचित भइ शासन सत्ता चलाउन सक्ने अवस्थामा पुगे आफुहरुलाई आपत्ति नहुने पनि प्रष्ट पारे । पार्टी मुल्यालय पेरिसडाँडामा शनिबार आयोजित साप्ताहिक पत्रकार भेटघाटमा पार्टी प्रवक्ता अग्नि सापकोटाले पूर्व राजा शाह रुपान्तरण भइ जनतामा गएर जनमत लिन भने अनिवार्य भएको बताए ।
सापकोटाले नयाँ संविधानसभा चुनावको विकल्प नरहेको भन्दै जस्तो सुकै लचकता अपनाएर भएपनि जिम्मेवारीसहित असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउनुपर्ने पनि बताए । उनले निर्वाचनको सुनिश्चिता गर्न सडक संघर्षमा रहेका दलहरुलाई सहमतिमा त्याउन निर्वाचन सिट संख्या, समानुपातिक प्रतिनिधित्व सहित मन्त्रिपरिषद विस्तार गरेर भए पनि निर्वाचनको लागि लचकता अपनाउनुपर्ने बताए । प्रवक्ता सापकोटाले भने “चुनाव सम्पन्न गर्नुको बिकल्प छैन , चुनाव सम्पन्न गर्नका लागि उच्च स्तरीय समिति पुर्नगठन गरेर मोहन बैद्य किरण, उपेन्द्र यादव, अशोक राई लगायतका पार्टी नेताहरुलाई समावेश गरेर उच्च स्तरीय राजनीतिक समिति पुर्नगठन गर्नु पर्छ भन्ने हाम्रो पार्टीको भनाई छ ।
निर्वाचनमा उहाँहरु सहभागी हुनुहुन्छ भने अनुपातको बारेमा पनि छलफल गर्नपर्छ । आवश्यक पर्छ भने समानुपातिक सिट संख्या बढाउन पनि तयार हुनुपर्छ । उहाँहरु समितिमा सामेल भईसकेपछि मन्त्री परिषद विस्तार पनि गर्नपर्छ ।” उनको भनाई थियो ।
प्रवक्ता सापकोटाले संविधानसभाको चुनाव दशौं हजारको बलिदानबाट प्राप्त भएको बताउदै चुनाव विरोधीहरुको भविष्य नरहेको पनि बताएका छन् ।