असार २ । राजविराजस्थित रामनगर गाविस–२ की २७ वर्षीया उर्मिलादेवी यादवको हत्या उनकै पतिले गरेको भन्दै माइतीपक्षले प्रहरीमा आइतबार कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।
घाँटी थिचेर पत्नी उर्मिलाको हत्या गरेपछि उनका पति ३२ वर्षीय योगेन्द्र फरार भएको भन्दै उर्मिलाका पिता रामनगर गाविस–८ का ६० वर्षीय केशोरी यादवले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएका हुन् । उर्मिलाको मृत्युलगत्तै भाइबुहारी २७ वर्षीया लक्ष्मीदेवीसहित योगेन्द्र फरार भएपछि प्रहरीले हत्याको अनुमान गर्दै उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
योगेन्द्रको भाइबुहारीसँगको अवैध सम्बन्धका कारण उनीहरुबीच दैनिक झगडा हुने गरेकाले सोही कारणले उर्मिलाको हत्या भएको हुन सक्ने छिमेकीले समेत आशङ्का गरेका छन् । उर्मिलाको शव घर नजिकैको खेतमा फ्याँकिएको अवस्थामा गत जेठ २७ गते बिहान स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
योगेन्द्र फरार भएपछि सोही गाउँमा बसोबास गर्ने माइती पक्षले नै शव परीक्षण गर्न उर्मिलाको शव लिएर सदरमुकाम राजविराज आएका थिए । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्र भट्टाईले अभियुक्तको खोजी तीव्रताका साथ भइरहेको बताएका छन् ।