जेठ २९ । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका पूर्व गर्भनर एवम् अर्थविद् डा तिलक रावल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

उनका साथमा सो पार्टीका विभिन्न केन्द्रीय विभागका सदस्य, जिल्लाका अध्यक्ष, सचिव एवम् क्षेत्रका विभिन्न तहका नेता कार्यकर्ता पनि काँग्रेसमा प्रवेश गरेका थिए ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आज आफ्नै निवास महाराजगन्जमा आयोजित कार्यक्रममा डा रावलसहित अन्य नेता कार्यकर्तालाई काँग्रेस पार्टीको सदस्यता दिनुका साथै फूलमाला लगाएर स्वागत गरे ।

सो अवसरमा सभापति कोइरालाले लोकतन्त्रमा सबै क्षेत्र, वर्ग, तह र तप्काका जनताको हक अधिकार सुरक्षित हुने भन्दै लोकतान्त्रिक पार्टीको नाताले काँग्रेसमा सबैको प्रतिष्ठा, सम्मान र इज्जत हुने बताए ।

डा रावलले आफू नेपाली काँग्रेसभन्दा कहिल्यै टाढा नरहेको र परिस्थितिवश रहँदा पनि काँग्रेसको अहित भने नगरेको बताउँदै आफू कुनै सर्त राखेर पार्टी प्रवेश नगरेको तर पार्टीमा आफ्नो सम्मानजनक अवस्था हुनुपर्ने धारणा राखे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।