जेठ २५ । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा शुक्रबार अपराह्न सम्पन्न भएको छ ।

जावलाखेलमा शुक्रबार विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भयो । भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति डा रामवरण यादव सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गरे । राष्ट्रपति डा यादवलाई नेपाली सेना, नेपाल प्रहरी र स्काउटको टोलीले सलामी अर्पण गरेको थियो । समारोहमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, कामु प्रधानन्यायाधीश दामोदर शर्मा, मन्त्रिगण, प्रधानसेनापति गौरवशम्शेर जबरा, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा हजारौँ सर्वसाधारणको सहभागिता थियो ।

सो अवसरमा राष्ट्रपति डा यादवले मच्छिन्द्रनाथको दर्शन गर्नाका साथै पाटनकी जीवित देवी कुमारीको हातबाट टीका ग्रहण गरेकी थिइन् । त्यसैगरी उनले मीननाथको पनि दर्शन गरेका थिए । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले पनि मच्छिन्द्रनाथको दर्शन गरी कुमारीको दर्शन तथा टीका ग्रहण गरेका थिए ।

राष्ट्रप्रमुख्लगायत विशिष्ट व्यक्तिको उपस्थितिमा गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले मच्छिन्द्रनाथको भोटो रथको चारैकुनाबाट तीन पटक देखाएका थिऐ । भोटो देखाउने क्रममा परम्परागत बाजा मच्छिन्द्रनाथको मृदङ्ग भजन र इन्द्र बाजा (काँ बाजा) बजाइएको थियो ।

मच्छिन्द्रनाथको रथलाई जाउलाखेल पु¥याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार शुक्रबार भोटोजात्रा भएको हो । लगनखेलस्थित थटिटोलमा रहेको रथ तानेर यही जेठ २१ गते जाउलाखेल पु¥याइएको थियो । यस वर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा गत वैशाख ३० गतेदेखि पुल्चोकबाट विधिपूर्वक सुरु भएको थियो ।

जात्रा व्यवस्थापनको जिम्मा लिएको गुठी संस्थान ललितपुरका प्रमुख सुवेदीले यस वर्षको रथजात्रा बिनाअवरोध सफलतापूर्वक सम्पन्न भएको बताए ।

विगत वर्षमा विभिन्न अवरोध सिर्जना भएका कारण जात्रा लम्बिने भए पनि यस वर्ष रथ तान्ने साइत चाँडै जुरेकाले रथजात्रा चाँडै सम्पन्न भएको बताइएको छ ।

मच्छिन्द्रनाथलाई अन्नदाता,पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ ।

यसैबीच भोटोजात्रा सकिएपछि आजै मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जाउलाखेलबाट बुङ्मतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराइने छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।