एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारसहितका नेताहरू सहभागी बैठकमा सिट संख्याका विषयमा कुरो मिलेको बताइए पनि थ्रेसहोल्ड र फौजदारी अभियोग बारे भने दलहरुबीच कुरो मिलेको छैन ।
दलहरुले निर्वाचन अध्यादेशबारे सहमति नजिक पुगेको बताएका छन् । प्रमुख राजनीतिक दलहरूले ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशमा भएका विषयहरूलाई यथावत् राख्दै निर्वाचन अध्यादेशमा रहेका विवाद मिलाउने सहमति पनि जनाएका छन् । तर सोही विषयलाई लिएर भने नेकपा माओवादीसहित ३३ दलले आन्दोलन गर्दै आएका छन् ।
आजको बैठकमा थ्रेसहोल्ड र फौजदारी अभियोग लागेकाले चुनाव लड्न नपाउने र उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधानको पक्षको आफ्नो अडान कांग्रेस र एमालेले राख्दै आएका छन् । तर एमाओवादी र मधेसी दलहरु यसको विपक्षमा अडान जारी राखेकाले आजको बैठकमा कुनै सहमति हुन नसकेको हो ।
आजको बैठकमा दलहरुबीच कुरा नमिलेपछि आउँदो २४ गते अर्को बैठक बस्ने भन्दै दलहरु बाहिरिएका थिए ।







