जेठ १९ । नेपाल बार एसोसिएसनको ४०औँ केन्द्रीय कार्यकारिणी बैठक उन्नाइस बुँदे बागलुङ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

शनिबार बागलुङमा सम्पन्न बारको बैठकले स्वतन्त्र र निस्पक्ष निर्वाचनको वातावरण निर्माण गरी निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको हो ।

प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार गठनको प्रक्रियाप्रति असुन्तष्ट बारले आफ्नो विगतको अडान यथावत रहेको जनाएको छ । शक्तिपृथकीकरणको सिद्धान्तविपरीत बनेको सरकार निर्माण प्रक्रियाप्रति बारको विरोध यथावत नै रहेको बारका अध्यक्ष हरिकृष्ण कार्कीले बैठकको घोषणा सभामा बताए ।

बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पनि गरेको छ ।

संवैधानिक व्यवस्थाअनुसार स्थायी न्यायाधीश तत्काल नियुक्ति गर्न आग्रह गर्दै बारले न्यायाधीश नियुक्तिमा कानुन व्यवसायीबाट ५० प्रतिशत सहभागिता सुनिश्चत गर्न र पुनरावेदन अदालतमा न्यायाधीश तत्काल नियुक्ती गर्न माग गरेको छ ।

“कानुन व्यवसायीले पेसागत कार्यसम्पादन गर्दा असुरक्षा महसुस गरिरहेकाले सुरक्षाको प्रत्याभूति दिन पनि माग गरिन्छ,” घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै बैठकले जनआन्दोलन दबाउन भूमिका निर्वाह गर्ने व्यक्तिलाई राज्यका महत्वपूर्ण निकायहरूमा नियुक्ति नगर्न पनि सुझाव दिएको छ ।

शनिबार सकिएको बैठकमा देशभरका ६०० भन्दा बढी कानुन व्यवसायीहरू सहभागी थिए । बारको अर्को कार्यकारिणी परिषद् बैठक छ महिनापछि हुने बारले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।