जेठ १८ । हुम्लाको सिमिकोटमा आज पुनः विमान दुर्घटना भएको छ । विमान दुर्घटना भएपनि विमानमा सवार सबै पाँचै जना सकुशल रहेका छन् ।

त्यहाँ सीता एयर लाइन्सको नाइट एन एएचबी नम्बरको विमान ल्याण्डिङ गर्ने क्रममा दुर्घटनाग्रस्त  भएको हो । विमानको पंखाका साथै अधिकांश भागमा क्षति पुगेको छ भने दुवै टायर पम्चर भएको बताइएको छ ।

नेपालगञ्जबाट हुम्लाको सिमिकोट उडेको सिता एयरको उक्त डोर्नियर जाहज ल्यान्ड गर्ने क्रममा आज बिहान ७ बजेर १० मिनेटमा दुर्घटना भएको हो । क्याप्टेन किरण भट्टराई र कोपाइलट दीपक शाहाले उडाएको उक्त जाहाज ल्यान्ड गर्ने क्रममा दाया पंखाले रनवे छुँदा दुर्घटना भएको हो।

विमान दुर्घटना हुँदा प्रहरी र सेनाको सक्रियतामा गरिएको उद्दार कार्यले गर्दा मानवीय क्षति हुन पाएन भने जहाजमा आगो लाग्नबाट समेत बचेको छ ।

हुम्लामै यसअघि जेठ १३ गते गोमा एयरको विमान दुर्घटना भएको थियो । त्यतिबेला पनि विमानमा सामान्य क्षति पुगेपनि मानविय क्षति भने भएको थिएन ।

नेपालमा पटक पटक हवाई दुर्घटना भएपछि युरोपेली संघले भने नेपाली जहाजलाई आफ्नो आकाशमा उड्न नदिने चेतावनी समेत दिईसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।