जेठ १८ । भारतको आर्थिक वृद्धिदर पाँच प्रतिशतमा सीमित रहेको छ । हाल पाँच प्रतिशतमा सीमित रहेको यो वृद्धिदर भारतमा विगत दशकदेखिकै सबैभन्दा कम हो ।

आगामी वर्षको सुरुमै भारतमा आम निर्वाचन हुँदैछ । सो निर्वाचनअघिको अवस्थामा भारतमा आर्थिक वृद्धि हुन नसकेको मुद्दा पनि एक प्रमुख एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ ।

भारतमा विगत केही वर्षयतादेखि भ्रष्टाचारको मुद्दा पनि व्यापक रूपमा उठिरहेको छ । यो कमजोर आर्थिक अवस्थालाई पनि भ्रष्टाचारसँग जोडेर हेर्ने गरिएको छ ।

व्यापारिक लगानीमा कमी, वैदेशिक लगानी कमजोर बन्दै जानु, निर्यातको मागमा कमी, मुद्रा सङ्कुचनजस्ता विभिन्न कारणलाई भारतमा आर्थिक वृद्धिको कमीका रूपमा लिन सकिन्छ ।

मार्च महिनामो अन्त्यसम्ममा भारतको पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन दरमा केही वृद्धि भएको छ । उक्त अवधिमा ४.८ प्रतिशत कुल गार्हस्थ्य उत्पादन दर पुगेको थियो ।

सो दर त्यसअघिको त्रैमासिकको तुलनामा थोरैमात्र बढी हो । सो अवधिमा उक्त वृद्धि ४.५ प्रतिशत मात्र थियो ।

भारतमा अघिल्लो आर्थिक वर्षमा आर्थिक वृद्धि ६.२ प्रतिशत थियो । यसको तुलनामा यसवर्ष घटेको हो । यसवर्षमात्र यो वृद्धिदरमा कमी आएको हो ।

विगतका दशकहरूकै तुलनामा भारतमा आर्थिक वृद्धि दर यसवर्ष कमी भएको हो । यसवर्षको यो वृद्धिका कारण भारतको वर्तमान सरकारको निकै आलोचना भइरहेको बताइन्छ ।

साथै आगामी निर्वाचनमा पनि यो आर्थिक अवस्थालाई विपक्षीहरूले एक प्रमुख एजेन्डा बनाउनसक्ने अनुमान राजनीतिक विश्लेषकहरूले अहिलेदेखि नै गरिरहेका छन् । एजेन्सी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।