जेठ १७ । सरकारविरुद्ध आन्दोलनरत ३३ दलीय मोर्चाको कार्यदलको बैठकले मोर्चा फुटाउने प्रयास असफल भएको ठहर गरेको छ ।

नेकपा–माओवादी कार्यालय बुद्धनगरमा आज बिहान बसेको ती दलको बैठकले दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समयसीमामा मोर्चा फुटाउने अभिप्राय रहेपनि त्यसलाई असफल पारिएको ठहर बैठकले गरेको हो ।

माओवादी पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले दल दर्ताका लागि बिहीबारसम्म दिइएको समयसीमाभित्र मोर्चा आबद्ध कुनै दलले दल दर्ता नगरेर मोर्चा एकताबद्ध नै रहेको सन्देश दिएको जानकारी दिए ।

उनले भने– “निर्वाचनको मिति पनि तोकिएको छैन, निर्वाचनसम्बन्धी अध्यादेश पनि पारित भएको छैन, आन्दोलनरत दलको मागको सुनुवाइ पनि भएको छैन । अहिल नै दल दर्ताको समयसीमा तोक्नु वाहियात हो ।”

चैत १ गतेको २५ बुँदे बाधा अड्काउ फुकाउ र ११ बुँदे सहमति खारेज नभएसम्म सरकारसँग वार्ता नगर्ने तथा निर्वाचनमा सहभागी नहुने यसअघिको निर्णयलाई यथावत् राख्ने निर्णय बैठकले गरेको कँडेलले बताए ।

बैठकले ‘प्रतिगमन र निर्वाचन’ विषयक बृहत् अन्तक्र्रिया काठमाडौँ, पोखरा, विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज, धनगढीलगायतका प्रमुख सहरमा गर्ने निर्णय गरेको छ ।

बैठकले ३३ दलको जारी आन्दोलनको समीक्षा गर्दै आन्दोलनलाई थप सशक्तरूपमा अघि बढाई निर्णायक स्तरमा पु¥याउन आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।