जेठ १६ । चिनियाँ ह्याकरहरूले अमेरिकी हतियार डिजाइनमा पहुँच प्राप्त गरेको भनी पेन्टागनले दिएको प्रतिवेदनलाई बेइजिङको प्रतिरक्षा मन्त्रालयले गलत निर्णय भनी ठहर गरेको छ र चीन आफैँले हतियार निर्माण गर्नसक्ने भनी जोड दिएको छ ।

वासिङटन पोस्टको समाचारलाई पुष्टि गर्दै अमेरिकी अधिकारीहरूले अमेरिकी प्रतिरक्षा ठेकेदार तथा सरकारी संस्थाविरुद्ध साइबरगुप्तचरीको यो एक भाग भएको जानकारी दिए ।

चिनियाँ प्रतिरक्षा मन्त्रालयको वेबसाइटमा प्रवक्ता जेङ यानसेङले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकी दाबी गलत निर्णय भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा पेन्टागनको सुरक्षा र चिनियाँ जनताको क्षमतालाई कम आँकलन गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा चीन आफ्नो राष्ट्रिय सुरक्षाको प्रतिरक्षा गर्न आवश्यक हतियार तथा उपकरण निर्माण गर्न पूर्ण रूपमा सक्षम रहेको उल्लेख गरिएको छ ।

जेङले नयाँ विमानवाहक जहाज, युद्धक जेट, मालवाहक विमान तथा स्याटेलाइट प्रणालीलाई उदाहरणको रूपमा उल्लेख गरेका छन् ।

अमेरिकी अधिकारीहरू चीनबाट हुने डिजिटल गुप्तचरीका लागि निकै चिन्तित देखिएका छन् र ह्वाइट हाउसले यस विषयमा आउँदो साता चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा राष्ट्रपति बाराक ओबामाबीच छलफल हुने बताएका छन् ।

वासिङटन पोस्टले पेन्टागनको कागजातलाई उद्धरण गरी ह्याकरहरूले प्रमुख हतियार प्रणाली, क्षेप्यास्त्र प्रतिरक्षा, युद्धक विमान तथा नौसैनिक जहाजका गोप्य डिजाइनमा पहुँच प्राप्त गरेको समाचार दिएको थियो ।

यसअघि चिनियाँ ह्याकरहरूले अस्ट्रेलियाको गुप्तचर संस्थाको नयाँ मुख्यालयको उच्च गोप्य जानकारी चोरेको समाचार आएको थियो । एजेन्सी


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।