कोइराला नगएपछि राजनीतिक समितिको बैठक बस्न सकेन

जेठ १३ ।  आज बस्ने भनिएको उच्च स्तरीय राजनीतिक समितिको बैठकमा कांग्रेस सभापति सुशिल कोइराला सहभागी नभएपछि विषय प्रवेश नै नगरी बैठक स्थगित भएको छ ।

संविधानसभाको निर्वाचन घोषणा गर्न विवादित विषयमा सहमति जुटाउन बस्न तयार भएको आजको बैठकमा कोइराला सहभागी नहुँदा बैठक १५ गते बिहान ९ बजे बस्ने गरी स्थगित भएको छ ।

बैठकपछि एमाले नेता रघुजी पन्तले काम विशेषले शिर्ष नेता नै बैठकमा सहभागी नभए पछि बुधबारसम्मका लागि बैठक स्थगित गरिएको बताए ।

आजको बैठकमा निर्वाचन सम्बन्धि ऐन कानुनका विषयमा रहेका विवादित विषयमा छलफल हुने बताइएको थियो ।

दलहरुले बुधबार अर्थात गणतन्त्र दिवस अगाडी नै निर्वाचनको मिति घोषणा गर्न सहमति जनाए पनि उनीहरुबीच रहेका विवादले निर्वाचन मिति घोषणा हुने सम्भावना भने कमै छ ।

दलहरुबीच थ्रेसहोल्ड राख्ने कि नराख्ने तथा संविधानसभामा सदस्य संख्याका विषयमा तिब्र मतभेद छ ।

एमाओवादी थ्रेस होल्ड नराख्ने र सदस्य सिट संख्या ६०१ नै हुनुपर्ने अडानमा छ भने कांग्रेस एमाले सदस्य संख्या ४९१ राखिनु पर्ने र थ्रेस होल्डको पक्षमा रहँदै आएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।