जेठ १२ । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले वर्तमान चुनावी सरकार चार दलको समझदारीमा चल्नुपर्ने बताएका छन् ।
आइतबार प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले चार दलले खिलराजको नेतृत्वमा संविधानसभाको चुनाव गर्न चुनावी सरकार निर्माण गरेको र चार दलकै निर्देशनअनुसार यो सरकारले चुनावी वातावरण बनाउनु पर्ने बताए ।
यसअघिको बाबुराम सरकारमा रहेका दलहरुका कारण संवैधानिक सङ्कट आएको महामन्त्री सिंहको आरोप थियो ।
नेता सिंहले भने– चाँडोभन्दा चाँडो संविधानसभाको निर्वाचन गराएर लिखित संविधान ल्याइनुपर्छ ।
महामन्त्री सिंहले राजनीतिक स्थिरता, स्थायित्व र शान्ति स्थापनाका लागि पनि संविधानसभाको चुनाव हुनुपर्ने बताउँदै नेकाभित्र कुनै विवाद नरहेको र आगामी चुनावमा पार्टी एक ढिक्का जाने बताए ।
आन्दोलनरत ३३ दललाई उच्चस्तरीय वार्ताका माध्यमबाट चुनावमा सहभागी गराउने वातावरण बताउनु पर्ने उनको सुझाव छ ।