जेठ १० । जिल्ला प्रशासन कार्यालय पर्वतले जारी गरेको एक नागरिकतामा गम्भीर त्रुटी पाइएको छ ।

दुर्लुङ गाविस–६ की माया गुरुङलाई दिइएको नागरिकतामा लिङ्ग परिर्वतन गरी महिलालाई पुरुष बनाएको पाइएको हो ।

आफू महिला भए पनि नागरिकतामा पुरुष लेखिएको थाहा पाएपछि गुरुङ चार वर्षपछि नागरिकता परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय पर्वत आएकी छन् ।

‘महिलाको फोटो टाँसिएको र महिला भन्ने प्रमाणित हुँदाहुँदै नागरिकतामा ‘पुरुष’ लेखेर दिइएको छ’ उनले भनिन् ।

गुरुङको २०४४ साल माघ १७ गते नागरिकता जारी गरिएको भए पनि २०६६ साल भदौ २९ गते प्रतिलिपि लिएको नागरिकतामा उल्लेख गरिएको छ ।

नागरिकतामा के लेखिएको छ भन्ने थाहा नभएको र हाल छोरीले विदेश बोलाएपछि पासपोर्ट बनाउन जाँदा बल्ल थाहा भएको गुरुङले बताइन् ।

प्रतिलिपिमा २०६६ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले हस्ताक्षर गरेर दिएको नागरिकतामा ‘पुरुष’ लेखिएको हो ।

नागरिकतामा भएको पुरुष भन्ने शब्दले काम गर्न गाह्रो भएपछि प्रशासनमा लिएर गएको र नागरिकतामा गल्ती भएको देखेपछि एक कर्मचारीले हतारमा हातैले “म” लेखेर पठाएको गुरुङले बताइन ।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीसँग सम्पर्क गर्दा मानवीय गल्ती भएको र त्यसलाई सच्याएर मिलाउन सकिने प्रतिक्रिया दिए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।