जेठ ९ । बर्षैदेखि अस्थायी रूपमा अध्यापनरत र अध्यापन लाइसेन्स लिएर बसेका करिब पाँच लाख जना स्थायी शिक्षक बन्नका लागि आजदेखि परीक्षामा सामेल हुँदैछन् ।
शिक्षक सेवा आयोगले १७ वर्षपछि लिएको शिक्षक परीक्षा आज देखि सुरु हुन लागेको हो । ४ लाख ८० हजार ७ सय ५८ परीक्षार्थी सहभागी हुँदैछन् । माध्यमिक तहको आज बिहीबार, निम्न माध्यमिकको शुक्रबार र प्राथमिक तहका शनिबार परीक्षा हुन लागेको हो ।
दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने परीक्षाका लागि नेपाली अक्षरका आधारमा सिट प्लानिङ गरिएको र परीक्षाको तयारी देशभर नै पूरा भएको आयोगले जनाइसकेको छ ।
परिक्षा हुने भएपछि यसअघि नै अधिकांस विद्यालय बन्द समेत भइसकेको छन् । परीक्षाका लागि १ हजार ८ सय ४७ केन्द्राध्यक्ष, ३ हजार ६ सय ९४ सहायक केन्द्राध्यक्ष, २ हजार ४ सय ३८ निरीक्षक, ७ हजार ३ सय ८८ सहयोगी कर्मचारी र सुरक्षाकर्मी १८ हजार ४ सय ७० कायम गरिएको छ ।
परीक्षालाई अमर्यादित बनाउनेमाथि निलम्बनदेखि जेल सजायसम्मको सजाय हुने बताइएको छ ।
परीक्षाका लागि कुल जनशक्ति ५५ हजार ४ सय ३७ परिचालन हुनेछन् ।








