एकै दिन दुई बालिका बलात्कृत

जेठ २ । सप्तरीमा पछिल्लो समय नाबालिकाहरु बलात्कारको शिकार बन्दै आएका छन् ।

बुबा समान शिक्षा दिने गुरुदेखि चिकित्सकसम्मबाट बलात्कारको शिकार भएका छन् यहाँका बालिकाहरु । यसैक्रममा बुधबार एकै दिन सप्तरीमा दुई बालिका बलात्कृत भएका छन् ।

बलात्कारमा पर्नेमा सात र १६ वर्षका किशोरी छन् । दुवै बालिकालाई स्थानीय छिमेकी युवकहरु मिलेर बलात्कार गरेका हुन् ।

जिल्लाको बकधुवा गाविसमा सात वर्षीया बालिकालाई स्थानीय एक किशोरले बलात्कार गरेका हुन् ।

बकधुवा गाविस–९ निवासी ती बालिकालाई स्थानीय १२ वर्षीय किशोर मोनु साहले बलात्कार गरी फरार भएको पीडित परिवारले बताएका छन् ।

घरमा कोही नभएको बेलामा उनी बालिकाको घरभित्रै प्रवेश गरी बलात्कार गरेको पीडितको आरोप छ ।

बलात्कार गर्ने युवकलाई एक थप्पड प्रहार गरेको निहुँमा प्रहरीले बलात्कृत बालिकाका पितालाई नियन्त्रणमा लिई प्रहरी चौकी महुलीमा राखिएको जनाइएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बलात्कृत बालिकाको स्वास्थ्य जाँच गराइएको छ ।

यता नर्घाे गाविसकी एक १६ वर्षीया किशोरीलाई सोही ठाउँका दुई युवकले मिलेर बलात्कार गरेका छन् । आमा माइती र पिता भारतको कुनौली गएको बखत हिजो बिहान दुई जनाले घरको ढोका तोडेर बलात्कार गरेका हुन् ।

बलात्कार गरेको आरोपमा नर्घाे–४ का १७ वर्षीय दिलीप यादव र बनैनियाँ–६ का १८ वर्षीय सञ्जयकुमार यादवलाई स्थानीयवासीले गएराति नै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।