जेठ २ । सन् १९९३ को मुम्बई बम विष्फोट सम्बन्धी मामिलामा दोषी ठहराइएका बलिउड अभिनेता सञ्जय दत्तले आज अदालत समक्ष साढे ३ वर्षे जेल सजाय काट्नका लागि आत्मसमर्पण गरेका छन् ।

उनलाई मुम्बई बमकाण्डका अभियुक्तहरुबाट अवैध हतियार लिएको अभियोगमा दुई महिना अघि पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

तर यसअघि १८ महिना जेल सजाय काटिसकेका भएकाले दत्तले अब साँढे ३ बर्ष मात्र जेल जिवन बिताउनु पर्ने भएको छ ।

भारतको सर्वोच्च अदालतले आत्मसर्पणका लागि थप समय दिन उनले गरेको अपील मंगलबार खारेज गरिदिएपछि उनले आज मुम्बईको टाडा विशेष अदालत समक्ष आत्मसमर्पण गरेका हुन् ।

दत्तले मंगलवार टाडा अदालतमा आफूमाथि ज्यानको खतरा रहेकाले विशेष अदालतमा नभइ येरवडा जेलमा आत्मसर्पण गर्न अनुमति मागेका थिए ।

तर, उनले उक्त अपील फिर्ता लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एक महिनाअघि अदालतले उनलाई आत्मसमर्पणका लागि थप चार साताको समय दिएको थियो । यस बीचमा उनले सुटिङको चरणमा रहेका आफ्ना फिल्महरुको काम सकाएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।