आदिवासीको महाधिवेशन चितवनमा सुरु, शिर्ष नेतालाई प्रवेश निषेध

बैशाख २९ । नेपाल आदिवासी जनजाति महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशन शनिबारबाट चितवनमा सुरु भएको छ ।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा सुरु भएको महाधिवेशनको आदिवासी जनजातिको आन्दोलनमा सहिद भएका सहिद धनबहादुर थनेतका छोरा तोवबहादुर थनेत र सेना सहन चौधरीका छोरा कमल चौधरीले उदघाटन गरेका छन् ।

उदघाटन समारोहमा बोल्दै एकीकृत नेकपा (माओवादी)का नेता वर्षमान पुनले आदिवासी जनजातिले उठाएका विषयमा आफ्नो पार्टी सकरात्मक भएको बताउँदै आगामी संविधानमा पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान बन्ने दाबी गरे ।

सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले चार दलको कारणले गर्दा संविधानसभाबाट संविधान नआएको भन्दै आदिवासी जनजातिका हक अधिकारका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

तेइस वर्षपछि पहिलो पटक राजधानीबाहिर आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्र अघि चितवनका विभिन्न ठाउँबाट साँस्कृतिक झाँकीसहित बृहत् शोभा यात्रा निकालिएको थियो ।

महाधिवेशनको उद्घाटन सत्र भरतपुरमा भए पनि बन्दसत्र भोलि र पर्सी सौराहामा हुनेछ । महाधिवेशनमा देशभरबाट पाँचसय प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म चल्ने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने छ ।

उक्त महाधिवेशनमा प्रमुख दलका शिर्ष नेतालाई भने निषेध गरिएको छ । सो कारण उदघाटनमा कुनै शिर्ष नेता पनि त्यहाँ झिकाइएन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।