बैशाख २७ । सरकारले वार्तामा आउन आग्रह गरेपनि वर्तमान सरकार नै असंवैधानिक भएको भन्दै वार्ता बहिस्कार गर्दै आएको नेकपा-माओवादीले आफ्ना तीन बुँदे माग पूरा भए वार्तामा बस्ने स्पष्ट पारेको छ ।

पार्टी अध्यक्ष मोहन वैद्य किरणले सरकारलाई पत्र पठाएर आफ्ना माग पूरा भएको खण्डमा मात्रै आफूहरु वार्तामा बस्ने स्पष्ट पारेका छन् । उक्त पत्रमा २५ बुँदे बाधा अड्काउ आदेश खारेजसहितका तीन वटा शर्त राखिएको छ ।

अध्यक्ष वैद्यले सरकारलाई पठाएको पत्र हेर्नुहोस्

श्री नेपाल सरकार
मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार ।
विषय :– वार्ताबारे ।
नेपाल सरकारको तर्फबाट संविधानसभाको निर्वाचनबारे सर्वदलीय वार्ताका लागि आमन्त्रित गरिएको पत्र प्राप्त भयो । परन्तु वार्तामा सहभागी हुने विषयमा विगतदेखि हामीले उठाउँदै आइरहेका २५ बुँदे आदेश खारेजी लगायतका विषयहरुको सम्बोधन नगरिएकोे मात्र होइन पछिल्लो समयमा जनताको विरोध हुँदाहुँदै बाह्य शक्तिहरुको दबावमा जनआवाजलाई कुल्चेर जसरी अख्तियार प्रमुखको नियुक्ति गरियो, त्यसले सरकारी वार्तालाई औचित्यहीन बनाएको छ । त्यसैले यदि विद्यमान राजनीतिक सङ्कटको निकासको लागि वार्ता गर्ने हो भने निम्न पूर्व शर्तहरु स्वीकार गरिनुपर्दछ ।
१. चैत्र १ गतेको २५ बुँदे आदेश खारेज गर्न तयार हुनुपर्दछ ।
२. आप्रवासीलाई नेपाली नागरिकता प्रदान गर्ने राष्ट्रघाती नागरिकता विधेयक खारेज गरिनुपर्दछ ।
३. अख्तियार प्रमुखको नियुक्ती बदर गरिनुपर्दछ ।
उपरोक्त ३ वटा पूर्व शर्तहरुको सम्बोधन हुने स्थितिमा मात्र वार्ता सार्थक हुनेछ । अन्यथा निर्वाचनका लागि भनेर गरिएको वार्ताको अर्थ र औचित्य नहुने स्पष्ट छ । साथै ४ दलका शीर्ष नेताहरुकै राष्ट्रिय आत्मसमर्पणवादी मार्गमा लाग्न हाम्रो पार्टी कदापि तयार नहुने कुरा जानकारी गराउन चाहन्छौं ।

………………
मोहन वैद्य ‘किरण’
अध्यक्ष
ने.क.पा.–माओवादी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।